maobadi-flag2सल्यान । आज दिउँसो खलङ्गाको पुरानो बसपार्कमा एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीबीच झडप भएको छ । झडपमा परी दुवै पक्षका गरी एक दर्जन घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
घाइतेमध्ये सल्यान–रुकुम यातायातका अध्यक्ष रहेका एकीकृत नेकपा (माओवादी)का राज्य समिति सदस्य लोकमान बुढाथोकीको टाउकोमा चोट लागेको छ ।
यस्तै नेकपा–माओवादीका जिल्ला इञ्चार्ज असल क्षेत्री, श्याम भण्डारी, गणेशमान सिंह, केशवराज शर्मा, बोधिराम विष्टलगायत एक दर्जन घाइते भएको नेकपा–माओवादीले जनाएको छ । नेकपा–माओवादीका घाइतेमध्ये श्याम भण्डारीको अवस्था गम्भीर रहेको सो पार्टीले जनाएको छ ।
दिउँसो १२ बजेतिर नेकपा–माओवादी सल्यानले चार दलको पुत्ला दहन गरिरहेको समयमा एकीकृत माओवादीका कार्यकर्ता उम्मेदवारी दर्ता गर्न जानेक्रममा झडप भएको थियो । झडपका कारण सदरमुकाम खलङ्गा दिनभर तनावग्रस्त रहेको छ ।
झडपमा दुवै पक्षबाट ढुङ्गा प्रहार गर्दा सदरमुकाममा रहेका केही पसलमा समेत क्षति पुगेको छ । झडपमा लाठी तथा ढुङ्गा हानाहान भएपछि सर्वसाधारणको विचल्ली भएको थियो । प्रहरीले दुवै पक्षलाई झन्डै २० मिनेटको झडपपछि तितरबितर गरेको थियो ।

Leave a Reply

You must be logged in to post a comment.