विवाहकाे कुरा सबै हल्ला हाेः शिल्पा

प्रकाशित मिति: Apr 7, 2016  

शिल्पा पोखरेल ।
छोटो समयमै चर्चाको शिखरमा पुगेकी नायिका हुन्, शिल्पा पोखरेल । यद्यपि उनले अभिनय गरेका चलचित्रको संख्या धेरै छैन । म्युजिक भिडियोमा राम्रै जमेपछि फिल्म सिटीमा पाइला चालेकाले उनले पहिचानको लागि त्यति संघर्ष गर्नुपरेन । अझ चर्चित निर्माता छवि ओझाको साथ मिलेपछि त शिल्पाले नसोचेको प्लेटफर्म पाइन् । पछिल्ला केही समयदेखि भने उनको व्यस्तता घटेको छ, तर चर्चा घटेको छैन । प्रस्तुत छ, उनै शिल्पासँग रेजिना उप्रेतीले गरेको संवाद :

चलचित्र ‘फागु’ बाट कस्तो प्रतिक्रिया पाउनुभयो  ?
चलचित्र हेर्नेको भीड नै थियो, हलहरूमा । एउटा राम्रो चलचित्र बनेको कारण चलचित्र हेरेका सबैले तारिफ नै गर्नुभयो ।

तर, चर्चाअनुसार पर्दामा त फिल्म अड्न सकेन नि ?
नेपाली फिल्महरूबीच नै पनि अहिले धेरै प्रतिस्पर्धा छ । ‘फागु’ जति दिन चल्यो, राम्रैसँग चल्यो । तीन हप्तासम्म हाउसफुल भएर चलचित्र चल्नु भनेको यतिबेला ठूलो सफलता हो । व्यापार पनि राम्रै गर्‍यो ।

‘फागु’ले कस्ता दर्शकलाई आकर्षित गर्‍यो जस्तो लाग्छ ?
सबै वर्गका दर्शकले हलसम्म पुगेर फिल्म हेरेको मैले देखेँ । राम्रो प्रतिक्रिया पनि पाएँ ।

पहिलो चलचित्र ‘लज्जा’देखि ‘फागु’सम्म आइपुग्दा आफूलाई कसरी निहाल्नुभएको छ ?
धेरै फरक पाएँ । धेरै कुराहरू बुझ्दै छु अझै पनि । अभिनयमा सुधार गर्दै छु । सुरुसुरुमा अभियन गर्न, डाइलग बोल्न डर लाग्थ्यो । अहिले त्यो हराएको छ, विश्वास बढेको छ ।

अहिले कुन चलचित्रमा व्यस्त हुनुहुन्छ ?
‘वृन्दावन’ नामको नयाँ चलचित्रको डबिङ कार्य भइरहेको छ त्यसैमा व्यस्त छु । म्युजिक भिडियो पनि गरिरहेको छु ।

तपाईंले जति चलचित्र गर्नुभयो । अलग–अलग भूमिकामा देखिनुभयो । अब कस्तो भूमिका निभाउने रहर छ ?
यसै भन्न त सकिँदैन । तर, फरक सोचका ‘स्टोरी’मा अभिनय गर्न मन लाग्छ । अहिलेसम्म सोचेभन्दा राम्रा भूमिका पाइरहेको छु । अब पनि त्यस्तै अपेक्षा छ ।

नायिकालाई पारिश्रमिक राम्रो दिइँदैन भनिन्छ नि ?
मेरो हकमा त्यो होइन । मलाई चैँ मैले पाएको पारिश्रमिक चित्त बुझेको छ । चित्तबुझ्दो नै पाइरहेको छु । अरुको कुरा मलाई थाहा भएन ।

विवाह गर्दै हुनुहुन्छ रे, हो ?
होइन हल्ला मात्र हो ।

आज फागू पूर्णिमा हो । कसरी मनाउँदै हुनुहुन्छ ?
फागू पर्व एकदमै मनपर्छ । एकदमै रमाइलो गर्छु । यसपालि छविजीको कार्यलायमा होली खेलिन्छ त्यसपछि करिश्मा दिदीको घरमा पनि फागुको कार्यक्रम छ, त्यहाँ गइन्छ । साथी भाइहरू जमघट भएर नाच्ने गाउने योजना छ ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np