अरू चिसियाे ‘दक्षिण-सम्वन्ध’

प्रकाशित मिति: May 8, 2016  

संविधानसभाबाट संविधान जारी भएपछि भारतसित चिसिएको सम्बन्ध सुधारोन्मुख भनिए पनि राष्ट्रपति भ्रमण स्थगन र राजदूत फिर्तीले पुन: संकटमा परेको छ । दक्षिणी छिमेकी भारतसँग सम्बन्ध सुधार भएको पटक–पटक दाबी गर्दै आएको प्रधानमन्त्री केपी ओली नेतृत्व सरकारले भारतमाथि अप्रत्यक्ष रूपमा आफ्नो सत्ता ढाल्न लागिपरेको आरोप लगाएको छ । सरकारले त्यही आरोप लगाउँदै राष्ट्रपतिको भ्रमण स्थगन मात्र होइन, राजदूतलाई समेत फिर्ता बोलाएकामा भारतीय अधिकारीहरूले आश्चर्यमा परेको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले अन्तिम तयारी भइसकेको राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण रोकेर भारतलाई कूटनीतिक प्रहार गरेको सन्देश दिएका हुन् । भारतको उज्जैनमा हुने कुम्भमेलामा भाग लिने अवसर पारेर भारत जान लागेकी राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमणलाई औपचारिक बनाउन नेपालकै चाहनाअनुरूप भारतीय समकक्षी प्रणव मुखर्जीबाट निमन्त्रणा आएको थियो । आफैंले मागेको भ्रमण अन्तिम समयमा रोकिएपछि भारतले आश्चर्य व्यक्त गरेको दिल्लीस्थित नेपाली दूतावास स्रोतले बतायो ।

राष्ट्रपतिको भ्रमण स्थगनसँगै दिल्लीस्थित राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णयले नेपालले भारतलाई बेवास्ता गरेर अघि बढ्न लागेको हो कि भन्ने संशय उत्पन्न भएको कूटनीतिक मामिलाका जानकार बताउँछन् । राष्ट्रपति भण्डारीलाई भारतमा उच्च सम्मान नदिइने र प्रधानमन्त्री नरेन्द्र मोदीले पनि राष्ट्रपति रहने भवनमा नभई अन्य स्थानमा भेट गर्नेलगायतको सूचना भारतीय पक्षबाट आएपछि ओली सरकार भ्रमण रोक्ने निर्णयमा पुगेको परराष्ट्रका अधिकारीहरूले बताए ।

राष्ट्रपति भण्डारीले भारतीय राजदूत रणजीत रायलाई बिहीबार आफ्नै निवासमा रात्रिभोजका लागि बोलाएर भ्रमणबारे छलफल गरेकी थिइन् । त्यसको तीन दिनअघि प्रधानमन्त्री ओलीले कूटनीतिक प्रचलनबाहिर गएर बत्तीसपुतलीको होटल द्वारिकाजमा राजदूत रायलाई रात्रिभोज दिएका थिए ।
औपचारिक रूपमा भने सरकारले मुलुकको आन्तरिक राजनीतिक कारण र राष्ट्रपति जाने तय भएको भारतको उज्जैनको धार्मिकस्थलमा प्राकृतिक विपत्तिको घटना भएका कारण भ्रमण स्थगन भएको दाबी गरेको छ । राष्ट्रपति भण्डारीले बुधबार सञ्चारकर्मीहरूलाई आफ्नै निवास शीतलनिवासमा बोलाएर
आफ्नो भारत भ्रमण तय भएको जानकारी दिएकी थिइन् ।

पाँच दिने भ्रमणका क्रममा दुई दिन दिल्लीमा रहने र त्यहाँ उच्चस्तरको राजनीतिक भेटघाट गर्ने उनको भनाइ थियो । भण्डारीले सरकार परिवर्तन तथा अन्य राजनीतिक घटनाक्रमले आफ्नो भ्रमणलाई कुनै असर नगर्नेसमेत उल्लेख गरेकी थिइन् । तर एकाएक सरकार परिवर्तन गर्न भएको खेल असफल भएलगत्तै भारत भ्रमण स्थगन गरिनु आफैंमा रहस्यको विषय भएको पूर्वपराष्ट्रमन्त्री तथा कूटनीतिज्ञहरूले प्रतिक्रिया दिए ।

‘राष्ट्रपतिको भ्रमणको सबै निर्णय सरकारमा भर पर्ने हुनाले यसमा म केही बोल्न सक्तिनँ । तयारी छलफल भइरहेको थियो, एकाएक स्थगनको कुरा आयो । सायद सरकारको तयारी वा भेटघाटको विषय केही मिलाउन समय पुगेन होला,’ राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार मदनकुमार भट्टराईले कान्तिपुरसित भने, ‘कहिलेकाहीं उच्चस्तरको भ्रमण मुलुकभित्रको आन्तरिक राजनीतिक कारणले स्थगन हुनसक्छ ।’

राष्ट्रपतिको भ्रमण स्थगनसँगै भारतीयसँग मिलेर सरकार गिराउने खेलमा लागेको आरोप लगाउँदै राजदूत उपाध्यायलाई फिर्ता बोलाइएको घटनालाई समेत भारतले सहज रूपमा नलिएको स्रोतले उल्लेख गरेको छ । ‘राष्ट्रपतिको भारत भ्रमण स्थगन गर्नु थियो भने यो तरिकाले गर्नु हुँदैनथ्यो’ भन्दै एक कूटनीतिज्ञले यसलाई सरकारको अपरिपक्व कूटनीतिक ‘हयान्डलिङ’ को संज्ञा दिएका छन् ।

‘यतिबेला राष्ट्रपति भारत भ्रमणमा जानु नै उचित थिएन तर जाने तय भइसकेपछि यसलाई अन्तिम समयमा स्थगन गर्नु केटाकेटीपन हो,’ ती विज्ञको टिप्पणी छ । उनका अनुसार विश्वविद्यालयको सहकार्य र सञ्चारसम्बन्धी दुई छुट्टाछुट्टै सहमति गर्ने तयारीसमेत भएर सबै खाका तय भइसकेको अवस्थामा एकाएक भ्रमण स्थगन गर्नाले भारत र नेपालको सम्बन्ध चिसिएको सन्देश विश्वभर एकैपटक गएको छ ।

‘कूटनीति सञ्चालनमा सरकारले देखाएको कार्य निकै कमजोर र अपरिपक्व रहेको छ । राष्ट्रपतिको भारत भ्रमण र राजदूत फिर्ता एकैपटक गर्नुले हाम्रो कूटनीतिक हयान्डलिङ सतहमा आएको छ,’ राजनीतिशास्त्री प्रा. श्रीधर खत्रीले कान्तिपुरसँग भने, ‘यसरी कूटनीति चल्दैन । यो कर्मचारीले बुझेर हुँदैन, राजनीतिकर्मीले पनि बुझ्न वा उनीहरूलाई बुझाउन जरुरी छ ।’

उनले अगाडि भने, ‘पहिले भ्रमण गर्ने भन्नु, अनि नगर्नु आफैंमा लज्जा हो । त्यसमा नै जोडेर राजदूत फिर्ता गर्नाले सरकार सञ्चालनलाई झ्न फितलो बनाएको छ । प्रधानमन्त्री एमालेको, परराष्ट्रमन्त्री राप्रपा नेपालको, सबैभन्दा धेरै इन्गेज भएको मुलुकको राजदूत प्रमुख प्रतिपक्ष दल कांग्रेसका प्रखर नेता हुँदा कूटनीतिक खिचडी त थियो नै, त्यसको संयोजनमा देखिएको बेमेल अहिले बाहिर आयो, यसले मुलुकलाई झन् डिज्यास्टरतिर लगेको छ ।’ पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले भारतसँगको सम्बन्धमा मात्र नभई समग्र कूटनीति सञ्चालनमा नै सरकार अपरिपक्व देखिएको बताए ।

‘भारतसँगको सम्बन्धमा हाल भएका अप्रत्याशित घटनाहरूले नेपालको कूटनीति सञ्चालनमा विवेक र संयमको खडेरी परेको तथा संस्थागत शिथिलता चिन्तालाग्दो चरणमा पुगिसकेको जनाउ दिएको छ । राष्ट्रपति स्वयंले पत्रकारहरूलाई बोलाएर आफ्नो भ्रमणको तिथि र उद्देश्य सार्वजनिक गर्नु, मन्त्रिपरिषदले निर्णय नै नगरेको भ्रमण स्थगित भएको सूचना बाहिर आउनु विरोधाभासपूर्ण छ । यसले दुई सय वर्षभन्दा लामो नेपालको कूटनीतिक अनुभवप्रति व्यंग्य गरेको छ,’ पाण्डेले भने ।

अर्का पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले निर्णय गरेपछि आफूले जानकारी पाएको बताउँदै भने, ‘किन यसरी हतारिए यो विषयमा सोध्दैछु । एकैपटक दुई घटना घट्नु सामान्य पक्कै होइन । यसलाई हामीले गम्भीर रूपमा लिएका छौं र औपचारिक कुराकानी हुनेछ । कूटनीति आवेशमा आएर सञ्चालन गर्ने विषय होइन ।’ भारतीय अखबारहरूले पनि सम्बन्ध सुधार हुँदै गएको अवस्थामा नेपाल सरकार झगडालु बनेको समाचारसमेत लेखेका छन् । ती पत्रिकाहरूले राजदूतले सम्बन्ध सुधारका लागि काम गरिरहेको अवस्थामा ओलीले कांग्रेससँगको रिस उनकै नेतासमेत रहेको राजदूत उपाध्यायलाई फिर्ता बोलाएर साँधेको अडकल गरिएको छ ।

– चन्द्रशेखर अधिकारी/कान्तिपुर

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np