शरद भेषावकरको टिम धनगढी प्रिमिएर लिगको फाइनलमा

प्रकाशित मिति: Apr 19, 2017  

काठमाडौं, वैशाख ६ । शरद भेषावकरको टिम विराटनगर किंग्स धनगढी प्रिमिएर लिग (डिपिएल) क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो प्लेअफमा रुपन्देही च्यालेन्जर्सलाई २९ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । अञ्चल प्रहरी कार्यालयको मैदानमा विराटनगरले दिएको १२९ रनको लक्ष्य पछ्याएको रुपन्देहीले निर्धारित २० ओभरमा अलआउट हुँदै ९९ रनमा समेटियो । रुपन्देहीका लागि विक्रम सोबले २३ तथा पुष्प थापाले २२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । विराटनगरका लागि सुशील कँडेल ३ तथा सन्दिप लामिछानेले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन बनायो । उसका लागि आशिफ शेखले ३४ तथा शरद भेषावकरले २४ रन बनाए । रुपन्देहीका शक्ति गौचनले ३ तथा दिपेश श्रेष्ठले २ विकेट लिए ।

जितसँगै विराटनगर फाइनलमा पुगेको छ भने रुपन्देहीले एलिमिनेटरको विजेतासँग पुनः फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर्स खेल्नेछ । पहिलो एलिमिनेटरमा काठमाडौं गोल्डेन्स र टिम चौराहा आजै भिड्नेछन् । यस एलिमिनेटरमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि रुपन्देहीसँग खेल्ने छ ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np