टेक्सासको डल्लासमा भब्य रुपमा नयां बर्ष मनाईयो

प्रकाशित मिति: Apr 16, 2017  

अमेरिका- नेपाली समाज टेक्ससले शनिबार आयोजना गरेको नयाँ वर्षको कार्यक्रम युलेसस्थित बियरक्रिक पार्कमा भव्य रुपमा सम्पन्न भएको छ ।
नेपाली समुदायको बाक्लो बसाई रहेको ड्यालस क्षेत्रबाट सयौँ नेपालीहरु नेपाली क्यालेण्डर अनुसारको नयाँ वर्ष २०७४ स्वागत गर्न उपस्थित भएका थिए । विगतका वर्षहरुमा नेपाली समाज टेक्ससले आयोजना गर्ने नयाँ वर्ष कार्यक्रम बिशुद्ध सांगितीक कार्यक्रमका रुपमा रहिआएकोमा यसपटक बालबालिकादेखि लिएर वयष्कसम्मकालाई समेटिएको थियो ।
बिहान ८ बजे बालबालिकाको खेलकुदबाट सुरु भएको कार्यक्रम साँझ साढे ५ बजेसम्म जारी थियो । वयष्कहरुका लागि भलिबल प्रतियोगितादेखि लिएर सांगितीक कार्यक्रम समावेश गरिएको थियो ।
वयष्कहरुको भलिबल प्रतियोगितामा नर्थ टेरेन्ट भलिबल टीम (एनटिभिटी) प्रथम भएको छ । त्यस्तै इन्द्रेणी सांस्कृतिक संघको टोली दोस्रो भएको थियो । भलिबलमा नेपाली र नेपाली मुलका भुटानी समेतका गरि १६ टीम सहभागी थिए । त्यस्तै बालबालिकाको लागि चम्चा, घ्याम्पो फुटाउने, दौड लगायत मनोरञ्जनात्मक खेलहरु राखिएका थिए ।
शनिबार एमओयु पछि नेपाली समाजका सदस्यहरुले भी–केयरबाट विशेष सहुलियत प्राप्त गर्नेछन् ।

कार्यक्रममा नेपाली मौलिक पोशाकमा उपस्थित हुनेमध्यबाट माया लामाले प्रथम उपहार प्राप्त गरेकी छिन् । त्यस्तै नेपाली पोशाकमा परिवारका सबै सदस्यहरु सहित उपस्थित भएका न्यूयोर्क लाइफ इन्सुरेन्समा कार्यरत कृष्ण लोहनीको परिवारले दोस्रो पुरस्कार प्राप्त गरेका थिए । नेपाली पोशकमा उपस्थित हुनेहरुमध्यबाट बिभिन्न विधामा सहभागीहरुलाई पुरस्कृत गरिएको थियो ।
नेपालको स्ट्रिट फेस्टिभलको सम्झना दिने युलेसको नयाँ वर्ष कार्यक्रममा स्थानीयदेखि लिएर हंगकंगबाट आएका कलाकार गणेश पराजुलीले गीत गाएर मनोरञ्जन दिएका थिए । बिभिन्न कम्पनीहरुले स्टल राखेर व्यबसायको प्रचार प्रसार समेत गरेका थिए । अमेरिका भ्रमणमा रहेकी अनेरास्वबियूकी अध्यक्ष नबिना लामाले पनि शुभकामना ब्यक्त गर्नु भएको थियो I
स्थानीय नेपाली समुदायका सदस्यहरुबाट सञ्चालित रेष्टुरेन्टले नेपाली परिकारहरुका स्टल राखेका थिए । विशेषगरि मम, सेकुवा, तास खानका लागि सर्वसाधारणको घुइचो लागेको थियो ।
कार्यक्रम सम्पन्न गर्नका लागि नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने, उपाध्यक्ष कमल सापकोटा, महासचिव कमल सत्याल, सचिब सुमन कार्की लगायतको सिंगो टीम सकृय थियो । त्यस्तै ड्यालस वरिपरि नेपाली समुदायमा अग्रपंक्तीमा आउने विजयराज भट्टराई, सुरेशचन्द्र पोखरेल, जनक राना, कमल ओझा, राम सी पोखरेल, डा मुराली अधिकारी, डा प्रेम अधिकारी, बिनय अर्याल, रमेश पोख्रेल, ज्ञानेन्द्र कार्की, प्रकाश गौतम, थलराज पन्त, प्रभात दिक्षित, पासांग लामा, टिका पौडेल, देबी आचार्य, शिव काफ्ले, राधाकृष्ण काफ्ले, बेद बस्नेत, उत्तम लामिछाने, बासु श्रेष्ठ, ऐशा ओझा, भरत देवकोटा, लगायतका व्यक्तिहरुको पनि निकै सकृयता थियो ।
कार्यक्रममा नेपालीले सञ्चालन गरेका व्यबसायका स्टल राखेर प्रचार प्रसार समेत गरिएको थियो । न्यूयोर्क लाइफ इन्सुरेन्स, अलस्टेट, भी–केयर क्लिनिक, डेन्टल क्लिनिक, रेष्टुरेन्टहरुको स्टलमा सर्वसाधारणको भीड थियो ।
भि–केयरसँग सम्झौताः
शनिबारनै जनस्वास्थ क्षेत्रमा कार्यरत भी–केयर क्लिनिक र नेपाली समाजबीच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । नेपाली समाजका सदस्यहरुको उपचारमा सहुलियत दिने उल्लेख भएको उक्त एमओयुमा भी–केयरका तर्फबाट कार्यकारी अधिकृत द्रोण गौतम र नेपाली समाजका अध्यक्ष कृष्ण लामिछानेले हस्ताक्षर गरेका छन् ।
टेक्ससको ह्युस्टनमा दुईवटा र ड्यालसको केरलटनमा एउटा क्लिनिक रहेको भी–केयरले निम्न आय भएका, स्वास्थ बीमा नभएकालाई सहुलियत दरमा स्वास्थ सेवा उपलव्ध गराउँदै आएको छ । भी–केयरले महिलाहरुलाई भने निशुल्क सेवा दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np