नर्थ क्यारोलाइनाको मोरिसभिलमा मनाइयो भव्य नेपाल दीवस

प्रकाशित मिति: Apr 16, 2017  

अमेरिका – अमेरिकी राज्य नर्थ क्यारोलाइनाको मोरिसभिल नगरले शनिबार नेपाल दीवस मनाएको छ ।
हरेक वर्ष अप्रिल महिनाको तेस्रो शनिबारलाई नेपाल दीवस मनाउने निर्णय नगरले यही मार्च ११ तारिकमा गरेको थियो । त्यस अनुसार शनिबार नगरका पदाधिकारी, नेपाली राजदूत लगायत कुटनीतिक अधिकारीहरुको उपस्थितीमा भव्य नेपाल दीवस कार्यक्रम सम्पन्न भएको छ ।
गत मंगलबार नगरका मेयर मार्क स्टोलम्यान र टाउन क्लर्क एरिन एल हडसनले नेपाल दीवस मनाउने घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।
मोरिसभिलमा एसियाली देशबाट आएकाहरुको संख्या बढ्दै गएको र त्यसमध्य नेपालीमुलका नागरिकहरुको मोरिसभिलमा संख्या बढ्दै गइरहेको छ । मोरिसभिलको जनसंख्याको एक तिहाई एसियालीहरुको संख्या छ ।
नगरको सामुदायिक गतिविधिमा नेपालीमुलका नागरिकहरुको सकृयता बढ्दै गइरहेको छ । मोरिसभिलमा मात्र बिभिन्न देशबाट आएकाहरुले एकसय भन्दा बढी भाषा बोल्छन् । नगरको विविधिकरणमा नेपाली मुलका नागरिकहरुको पनि ठूलो योगदान रहेको जानकारी सिटीले उल्लेख गरेको छ ।
दोस्रो विश्वयुद्धमा नेपालले अमेरिकाको साथ दिएको, विश्वमै शान्तिदूत कहलाएका गौतमबुद्धको जन्मभूमि रहेकोले नेपालीहरु पनि शान्तिकामी रहेको नगरले उल्लेख गरेको छ । नर्थ क्यारोलाइनामा सन् १९९९ देखि नेपाल सेन्टर फर नर्थ क्यारोलाइना स्थापना भएर कृयाशील रहेको छ ।
नर्थ क्यारोलाइना राज्यमा मात्र झण्डै चारहजार नेपालीहरु बस्दै आएका छन् । नेपालीहरुको उपस्थितीको सम्मान गर्दै, संस्कृतिको विकासका लागि नगरले अप्रिलको तेस्रो शनिबार नेपाल दिवस मनाउने निर्णय गरेको हो ।
त्यस अन्तरगत शनिबार मोरिसभिलमा नेपाली समुदायले नेपाली पोशाकमा परम्परागत नेपाली मौलिक पञ्चेबाजा सहित र्याली आयोजना गरे । कार्यक्रमका प्रमुख अतिथि राजदूत कार्की थिए । अतिथिका रुपमा मोरिसभिलका मेयर लगायतका अधिकारीहरु समेत सहभागी थिए । कार्यक्रम एनसिएनसीकी अध्यक्ष डा. सुुष्मा प्रधानको सभापतित्वमा भएको थियो ।
एनआरएन अमेरिकाका उपाध्यक्ष कृष्ण पोखरलेका अनुसार धेरै अघिदेखिको नेपाली समुदायले राख्दै आएको माग यतिखेर पुरा भएको छ । उनका अनुसार यो अभियानलाई अब अमेरिकाभरि नेपालीहरुको बाक्लो उपस्थिती भएको ठाउँमा व्यापक रुपमा लैजानुपर्छ ।
दुई महिना अघि नेपालका पूर्ब प्रधानमन्त्री माधबकुमार नेपाल नर्थ क्यारोलाइना आउँदा नेपाल दीवस मनाउने कुराकानी अघि बढेको थियो । त्यतिखेर एनआरएन पदाधिकारी, एनसिएनसीका पदाधिकारीहरु र नगरका पपदाधिकारीहरु बीच कुराकानी भएको थियो । नेपालीहरुको वाहुल्यता भएको हुँदा नगरले यस्तो दीवस मनाउने निर्णय गरेर नेपालीलाई हौसला दिएको हो ।
नेपाली मुलका हामी र यहाँको स्थानीय निकायसँग रिलेसनसीप बढाउन सक्यौँ त्यही ठूलो उपलव्धी हो, स्थानीय समाजसेवी रबिन्द्र कार्कीले हिमालय खबरसँग भने । असाध्यै अल्पमतमा रहेका नेपाली समुदायको कला, संस्कृतिको सम्मान गर्दै मोरिसभिल नगरले यस्तो निर्णय गरेकोमा स्थानीय वासिन्दा अति खुशी भएका छन् ।
हरेक राज्यका नेपालीहरुले यो पहल स्थानीय नगरसँग गर्न आवश्यक छ । त्यसका लागि हामी नेपालीहरुले स्थानीय तहका मेयर, टाउनसँग भेटघाट गरौँ, एनआरएन उपाध्यक्ष पोखरेलले भने- एनआरएनले यसलाई अभियानका रुपमा लैजानुपर्छ । अमेरिकामा हाम्रो आइडेन्टी स्थापित गर्नका लागि यो सबैभन्दा राम्रो तरिका पनि हो ।
मोरिसभिल नेपालको जस्तै भू-बनौट र हावापानी भएको शहर हो । त्यसकारण धेरै नेपालीहरु अमेरिकाका अन्य राज्यहरुबाट बसाइ सर्ने क्रम बढेको स्थानीय विनोद भट्टले बताए । उनले मोरिसभिल नगरले नेपाल दीवस मनाउने निर्णय गरेर नेपालीहरुलाई पहिचान र उपस्थितीमा ठूलो सहयोग गरेको बताए ।

 

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np