नेपाली विद्यार्थीलाई दक्षिण अमेरिका जान प्रतिबन्ध

प्रकाशित मिति: Apr 16, 2017  

काठमाडौं,बैशाख ३ । शिक्षा मन्त्रालयले नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा जान प्रतिबन्ध लगाएको छ। त्यहाँका मुलुकमा विद्यार्थीहरु अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको हो।

मन्त्रालयले चिलीलगायत दक्षिण अमेरिकी महादेशका अन्य मुलुकमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ नदिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले बताए। उच्च शिक्षा अध्ययनका लागि गत वर्ष अध्ययन भिसामा चिली गएका ४२ विद्यार्थी अलपत्र परेका थिए। अध्ययनको बहानामा रोजगारी तथा अन्य उद्देश्यले चिलीसहित ब्राजिललगायतका मुलुकमा गए समस्यामा पर्ने गरेका शिक्षा र परराष्ट्र मन्त्रालयले गरेको अध्ययनमा पाइएको थियो।

त्यसपछि मन्त्रीस्तरीय निर्णयअनुसार नेपालमा त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गर्ने विश्वविद्यालय र विषयबाहेक अन्य विषयमा नो अब्जेक्सन लेटर नदिन मन्त्रालयले वैदेशिक अध्ययन तथा अनुमतिपत्र व्यवस्थापन शाखालाई निर्देशन दिएको हो। शाखा प्रमुख दिलेश्वर प्रधानले मन्त्रालयको निर्देशनअनुसार शुक्रबारदेखि नै नो अब्जेक्सन लेटर दिन बन्द गरिएको बताए। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np