न्यूयोर्क शहरको कम्युनिटि बोर्डमा नेपाली समाजसेवी ज्ञवाली नियुक्त

प्रकाशित मिति: Apr 5, 2017  

न्यूयोर्क, संसारकै राजधानी मानिने न्यूयोर्क शहरको क्वीन्स बोरोको कम्युनिटी बोर्डमा समाजसेवी मोहन ज्ञवाली नियुक्त भएका छन् । लामो समय देखि न्यूयोर्कको रिजउड क्षेत्रमा बसेर समाजसेवामा सकृय रहंदै आएका ज्ञवालीलाई न्यूयोर्क सिटी क्वीन्स बोरो प्रसेडिन्टले यहि अप्रिल १ देखि लागु हुने गरि दुई बर्षका लागि कम्युनिटी बोर्ड ५ मा नियुक्त गरेको पत्र प्रदान गरेका छन् । समस्यामा परेका धेरै नेपालीहरुलाई सहयोग गर्दै आएका ज्ञवालीको समाजसेवी भावनाको कदर गर्दै कम्युनिटी बोर्डमा नियुक्त गरिएको क्वीन्स बोरो प्रेसिडेन्ट मेलिण्डा कट्जद्धारा दिईएको नियुक्त पत्रमा जनाइएको छ । सन् १९९६ देखि न्यूयोर्कमा बसोबास गर्दै आएका ज्ञवाली रिजउड नेपाली समाज न्यूयोर्कको संस्थापक अध्यक्ष, अमेरिका नेपाल चेम्बर अफ कर्मशको संस्थापक अध्यक्षका साथै प्रस्तावीत एभरेष्ट फेडेरल क्रेडिट युनियनका समेत अध्यक्ष हुन् । न्यूयोर्क सिटी कम्पोट्रलरबाट साउथ एशिएन हेरिटेज अवार्ड लगायतका दर्जनौ अवार्ड पाएका समाजसेवी ज्ञवाली एनआरएन अमेरिकाका बर्तमान बोर्ड अफ डाईरेक्टर समेत हुन् ।

स्थानिय सरकार मानिने यस बोर्डको कार्यक्षेत्र न्यूयोर्क शहरको क्वीन्स बोरो अन्र्तगत रिजउड, मास्पेथ, मिडल भिलेज, गेलेण्डल र उडसाईड क्षेत्रको केहि भाग समेत पर्दछ । बोर्डले शिक्षा, वातावारण, स्वास्थ्य तथा मानव सेवा, घर ब्यवसाय, जन सुरक्षा सार्वजानिक यातायत, सरसफाई, बजेट, प्रहरी लगायतका बिषयमा स्थानिय सरकारसंग कार्य गर्दछ ।
नेपालको अर्घाखांची जिल्लामा जन्मेर हाल न्यूयोर्कमा ब्यवासय गर्दै आएका ज्ञवालीले आफ्नो नियुक्ती पश्चात आफुलाई समाजसेवामा थप उर्जा प्राप्त भएको बताएका छन् । हजारौं नेपालीहरुको बसाईरहेको यस क्षेत्रमा आफुले सक्दो रुपमा सबैलाई हित हुने कार्यमा आफुलाई तल्लीन बताउने योजना रहेको ज्ञवालीको भनाई छ । न्यूयोर्कमा धेरै नेपालीहरुको लामो समय देखि बसोबास रहे पनि स्थानिय राजनितीमा पंहुच पुग्न नसकेको बेला आफ्नो नियुक्तीले सबैलाई टेवा पुग्ने ज्ञवालीको भनाई छ। न्यूयोर्कमा धेरै नेपाली रहेपनि नेपाली राजनीतिमा मात्र ब्यस्त भएको तर अमेरिकन राजनीतिमा पंहुच राख्न नसकेको आरोप खेपिरहेको बेला भएको ज्ञवालीको नियुक्तीलाई समाजका सबै क्षेत्रका ब्यक्तीहरुले प्रसंशा गरेका छन् । न्यूयोर्क शहरमा राजनीतिक नियुक्ती पाउने ज्ञवाली सम्भवत पहिलो नेपाली हुन् ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np