काम शुरु नगर्दै बिबादमा एनआरएन अमेरिकाको छानबीन समिति

प्रकाशित मिति: Mar 20, 2017  

सूर्य थापा टेक्सास, २० मार्च। एनआरएन अमेरिकाले बनाएको सदस्यता छानबिन समिति काम नथाल्दै बिबादमा तानिएको छ । आगामी मे मा हुन लागेको निर्बाचनमा भाग लिन आवेदन दिएका लगभग १७ हजार सदस्यको छानबिन गर्न आईतबार गठन गरिएकाे समितिमा एक पक्षिय ब्यक्तिहरु हाबी भएको भन्दै समिति बिबादमा तानिएको हो । आफै निर्बाचनको मैदानमा रहेका एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडलको पहलमा बनाइएको समितिमा बरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष पदका अर्का उम्मेदवार कृष्ण पोखरेललगायतको असहमति रहेको बताइएकाे छ । सदस्यता छानबिन समिति संयोजक बर्तमान महासचिव तिलक श्रेष्ठको नेतृत्वमा रहेको समितिमा जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष सिपी पौडेल र केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि प्रमोद सिटौला सदस्य बनाइएका छन्।

एनआरएनको बिधानमा नै कुनै पनि राजनीतिक दलमा आवद्ध ब्यक्तिले संस्थाको जिम्मेवारी लिन नसक्ने उल्लेख रहेपनि एनआरएन अमेरिकाको बर्तमान समितिले बिधानको धज्जी उडाउदै बिबादित रुपमा छानबिन समिति बनाएको छ । टेक्सासका पौडेल र न्यूयोर्कका सिटौला डा. पौडेललाई जिताउन अभियान नै चलाएर हिड्ने ब्यक्तीमा पर्दछन् । समतिको अन्य सदस्यमा जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय प्रतिनिधी रहेका हरिहर दाहाल, ब्यवसायी पासाङ लामा तथा राप्रपाको भातृ संगठन नजिक रहेका बिनोद तिवारी र नबराज खड्का रहेको भए पनि तिबारी बर्तमान बोर्डका सदस्य हुन भने खड्का एनआरएन अमेरिकाको कार्यलायमा रहेर काम गरेको अनुभव संगालेका युवा हुन् । एनआरएन अमेरिकाको आइतबारको बैठकमा भोटिङमार्फत बहुमतद्वारा सदस्य छानिएको थियो । अत्यन्तै अब्यस्थित रुपमा बसेको बैठकमा संस्थाका निवर्तमान उपाध्यक्ष श्री पराजुलीकाे नेतृत्वमा रहेकाे छानबिन समितिलाई नै सदस्यता छानबिनको जिम्मेवारी दिने बिषयमा कुरा उठे पनि अध्यक्ष डा. पौडेलले पराजुलीसँग कुरा गरिसकेको बताउदै नयाँ समिति बनाउने अड्डी लिएका थिए ।

यसैबीच, एनआरएन अमेरिकाका निवर्तमान उपाध्यक्ष पराजुलीले आफुसँग कुनै सल्लाह नगरिएको र अाफूले सबै पक्षलार्इ समेटेर सर्वसम्मत समिति बनाउन सुझाव दिंदासमेत वेवास्ता गरिएको बताएका छन् । बर्तमान कार्यसमिति एनआरएन अमेरिकालाई लोकप्रिय गराउने भन्दा पनि झनै बिबादित गराउन लागिपरेकाे पराजुलीको भनाई छ । पराजुली भन्छन्, बर्तमान अध्यक्ष पौडेल जसरी भएपनि चुनाव जित्ने मनसायका साथ अगाडि बढेको र संस्थाभन्दा पनि आफू केन्द्रित भएकोले भैरहेकाे समितिलार्इ भंग गरी अाफ्ना यसम्यानहरू जम्मा पारेर समिति गठन गरिएकाे हाे । छानबिन समिति एकपक्षीय छ र याे डा. पाैडेललार्इ जिताउने हिसावमा गठन गरिएकाे छ । एनआरएन अमेरिकाले बनाएको छानबिन समितिमा अमेरिकामा रहेकाे नेपालीहरुको ठुलो संस्थामध्ये एक प्रवासी नेपाली मञ्च अमेरिका सर्मथित कुनै पनि सदस्य परेका छैनन् । सदस्यता छानबिन समिति प्रति मञ्चका अध्यक्ष सञ्जय थापाले फेसबुकमार्फत सार्वजनिक रूपमै अाफ्नाे असन्तुष्टि ब्यक्त गरेका छन् ।

यसैबीच एआरएन अमेरिकाले बनाएको सदस्यता छानबिन समितिका बारेमा अमेरिकामा रहेका बिभिन्न क्षेत्रका अगुवाहरुले बर्तमान कार्यसमितिले गैरराजनीतिक संस्थामा खुलेर राजनीति गरेको आरोप लगाएका छन्। समितिमा रहेका ब्यक्तिहरु नेपाली कांग्रेसको भातृसंगठन जनसम्पर्क समितिको जिम्मेवार ब्यक्तिहरु रहेकोले उनीहरूले राजिनामा दिएर मात्र काम गर्नुपर्ने उनीहरूकाे भनाइ छ । यसअघि राजनीतिक संस्थालाई एनआरएनमा सहभागी नगराउने भन्दै एनआरएन आईसीसीको चुनावमा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट र प्रवासी नेपाली मन्च अमेरिकाका अध्यक्ष सन्जय थापालाई प्रतिनिधि समेत बनाइएको थिएन । तर, अहिले भने सदस्यता छानबिन समितिमै जनसम्पर्क समितिका उपाध्यक्षलार्इ मनाेनयन गरेर खुलेआम राजनीति गर्न लागिएकाे उनीहरूकाे अाराेप छ । बिबादित समितिको बारेमा प्रतिकृया लिन खाेज्दा एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलकाे फाेन उठेन । तर, बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलले सबै क्षेत्रलाई समेटेर छानबिन समिति बनाउन नसकिएको स्वीकार गरेका छन् । पोखरेलले राज्यबाट छानबिन भएर आउने हुँदा समितिले बिबादरहित हिसाबले छानबिन गर्नेमा बिश्वस्त रहे पनि बहुमतका आधारमा बर्तमान समिति बनेको उनले स्वीकार गरे।सबैलाई समेट्ने खालको समिति बनाउने पक्षमा अाफू रहे पनि बैठकमा अल्पमतमा परेकाे उनले बताए । समितिका सदस्यहरुका बिषयमा बिबाद आएको बर्तमान छानबिन समितिका संयोजक श्रेष्ठले भने सबैलाई बिश्वस्त हुन आग्रह गरेका छन् । आफ्ना्े नेतृत्वको समिति बहुमतको आधारमा बने पनि राजनीतिक आस्थाभन्दा माथि उठेर काम गर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np