एनआरएनको सदस्यता छानबीन समिति, छानबीन निष्पक्ष हुनेमा शंका

प्रकाशित मिति: Mar 20, 2017  

अमेरिका- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको सदस्यता छानवीन समिति गठन भएको छ। एकपक्षिय रुपमा व्यक्तिहरु राखेर छानबीन समिति गरिएको आरोप लागेको छ।
छानबीन समितिमा रहेका अधिकांश सदस्यहरु एउटै राजनीतिक पृष्ठभूमिकामात्र छन्। त्यसमा पनि वर्तमान अध्यक्ष डा. केशव पौडेल निकटहरुको वाहुल्यता रहनुले एनआरएन अमेरिकाको निर्वाचन निष्पक्ष हुनेमा शंका बढेको छ।
आइतबार साँझ बसेको एनआरएन अमेरिकाको बैठकले महासचिव तिलक श्रेष्ठको संयोककत्वमा सात सदस्यिय छानबीन समिति गठन गरेको छ। समितिमा कार्यसमितिबाट सदस्य बिनोद तिवारी रहेका छन्। त्यस्तै हरिहर दाहाल (क्यालिफोर्निया), पासाङ लामा (टेक्सस), नवराज खड्का (न्यूयोर्क), सिपी पौडेल (टेक्सस) र प्रमोद सिटौला (न्यूयोर्क) रहेका छन्।
‘राज्य अनुसार अलग्गै सदस्यता छानबीन समिति समेत गठन गरिएको छ,’ छानबीन समितिका संयोजक श्रेष्ठका अनुसार राज्य समितिको छानबीनबाट पास भएकाहरुलाई फेरि महासचिवको संयोजकत्वको केन्द्रीय छानबीन समितिले थप अनुसन्धान गर्नेछ।
सदस्य संख्याका आधारमा कम्तिमा तीनदेखि पाँचजनाको राज्य स्तरीय छानबीन समिति गठन भएको छ। टेक्ससको छानबीन समितिमा कमल सत्याल, सुरेश बस्याल र मोहन अधिकारी रहेका छन्।
आइतबार गठन गरिएको छानबीन समितिमा प्रवासी मञ्चको तर्फबाट कोहीपनि प्रतिनिधि छानबीन समितिमा नपर्नुले निष्पक्ष रुपमा काम हुनेमा शंका व्यक्त गरिएको छ। थपमा अहिले समितिमा रहेका अधिकांश अनुहार वर्तमान अध्यक्ष पौडेलका पक्षधर छन्। छानबीन समितिमा रहेका सिपी पौडेल जनसम्पर्क समिति अमेरिकाका उपसभापति हुन्। त्यस्तै न्यूयोर्कका प्रमोद सिटाैला समितिका केन्द्रीय सदस्य हुन् ।उनीहरू छानबीन समितिमा बस्ने हो भने जनसम्पर्कको पदबाट राजिनामा दिनुपर्ने माग उठेको छ।
छानबीन समितिमा नर्थ क्यारोलाइनका विनोद भट्ट र टेक्ससका कमल ओझाको नाम केही सदस्यहरुले प्रस्ताव गरेका थिए। तर दुबैको नाम अध्यक्षले अस्विकृत गरेको स्रोतले बतायो। दुबै जना वर्तमान अध्यक्ष पौडेल इतर खेमाका भएकाले अस्विकृत गरिएको स्रोतको दावी छ।
‘राज्यस्तरीय छानबीन समितिले प्राप्त आवेदनमा परिचयपत्र, फोटो, ठेगाना, फोन नम्बर, इमेल आदीका आधारमा वास्तबिक व्यक्ति हो होइन भनेर छानबीन गर्छ,’ संयोजक श्रेष्ठले भने। त्यसपछि केन्द्रमा सिफारिस गर्छ। विगतमा रकम तिरे नतिरेको विषयमा छानबीन गरेपछिमात्र अघि बढ्ने गरेकोमा यसपटक आर्थिक पक्षलाई बेवास्ता गर्दै एकैपटक राज्य समितिलाई आवेदन दिनेहरुको सूचि पठाइने भएको छ।
केन्द्रीय छानबीन समितिलाई १५ दिनभित्र काम सम्पन्न गर्न कार्यादेश दिइएको छ। राज्यसमिति हुँदै केन्द्रीय समितिले १५ दिनमा काम सम्पन्न गर्नु महाभारत हुने धेरैको टिप्पणी छ। मिहित रुपमा सदस्यता केलाउने हो भने १५ दिनको समय अपुग हुन्छ। सदस्यता दिन मन नलागेकालाई छानिछानी हटाउने नियत हो भनेमात्र यो समय ठीक हुने धेरैको टिप्पणी छ।
एनआरएन अमेरिकाको सदस्यताको लागि आवेदन दिने म्याद गत मार्च १५ तारिकसम्म थियो। तर सदस्यताप्रति बढ्दो चासोले गर्दा आइतबार रातिसम्म आवेदन गर्न सकिने व्यबस्था छ। आइतबार पनि सिस्टमले काम नगरेका कारण धेरैजनाले सदस्यता भर्न सकेनन्। उता कति सदस्य हो भन्ने बारेमा सिस्टमले कुनै विवरण समेत देखाएको छैन।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np