प्रहरीसँगको झडपमा पशुपति समशेर राणा घाइते

प्रकाशित मिति: Mar 20, 2017  

काठमाडौं,चैत ७ । प्रहरीसँगको झडपमा राप्रपाका पूर्वअध्यक्ष पशुपति समशेर राणा घाइते भएका छन् । निर्वाचन आयोगको कार्यालय घेराउ गर्न गएकाबेला प्रहरीसँगको झडपमा राणा घाइते भएका छन् । राणाको खुट्टामा चोट लागेको छ । उनलाई तत्कालै राप्रपाका कार्यकर्ता र प्रहरीहरु मिलेर उद्धार गरेका थिए । उनलाई अहिले निर्वाचन आयोगको कार्यालय रहेको प्राङ्गणमा राखिएको छ । पूर्वमन्त्रीसमेत रहेका राणाले जुलुशको अगुवाई गरिरहेका थिए । प्रहरीको लाठी प्रहारबाट राणासहित सांसद कुन्ती शाही, प्रवक्ता रोशन कार्कीपनि घाइते भएका छन् ।

शान्तिबाटिकामा जम्मा भएर कान्तिपथतर्फ अघि बढेका उनीहरुलाई प्रहरीले रोकेपछि तनाव सुरु भएको थियो । प्रदर्शनकारी प्रहरीको घेरा तोडेर अघि बढ्न खोेजेपछि प्रहरीले अश्रुग्यास हानेको छ भने राप्रपा कार्यकर्ताले ढुंगा प्रहार गरेका हुन् । ‘हिन्दु राष्ट्र र राजसंस्था’ सम्बन्धी वाक्यांश हटाउने निर्णय खारेज गर्न माग गर्दै राप्रपाका नेता तथा कार्यकर्ता जमलस्थित निर्वाचन आयोगको कार्यालय अगाडि धर्ना दिन पुगेका हुन्।

सत्तारुढ राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाको नेतृत्वमा आयोगमा धर्ना दिने कार्यक्रम थियो । तर, धर्नामा पूर्वअध्यक्ष पशुपतिशमसेर जबरा भने सहभागी थिए । थापाभने धर्नामा देखिएनन् । राप्रपाको विधानमा रहेको राजसंस्था र हिन्दू राष्ट्रसम्बन्धी वाक्यांश नेपालको संविधानसँग बाझिएको भन्दै आयोगले शुक्रबार हटाइदिएको थियो ।

राप्रपाको विधानको प्रस्तावनामै ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र एवं राजसंस्थासहितको लोकतन्त्रको मान्यता अभिवृद्धि र कायम गर्न’ भन्ने वाक्यांश थियो । विधानको धारा ५ मा ‘नेपालमा सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने’ भन्ने वाक्यांशसमेत उल्लेख थियो ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np