‘वान बेल्ट वान रोड’ मा प्रतिबद्धतापछि प्रचण्ड र चिनियाँ राष्ट्रपतिको भेट तय

प्रकाशित मिति: Mar 19, 2017  

काठमाडौं,चैत ६ । चीनले अगाडि सरेको ‘वान बेल्ट वान रोड’ (ओबीओआर) परियोजनामा नेपालका तर्फबाट प्रतिबद्धता जनाएपछि चिनियाँ राष्ट्रपति सी जिङपिङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट दिने भएका छन्। चिनियाँ राष्ट्रपतिसँगको भेट तय भएसँगै अनिश्चितजस्तै बनेको प्रधानमन्त्री दाहालको चीन भ्रमण हुने निश्चितजस्तै बनेको छ।

प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री ली खस्याङसँग भने भेट नहुने भएको छ। चिनियाँ प्रधानमन्त्री ली प्रधानमन्त्री दाहालको चीन भ्रमणको अघिल्लो दिन अस्ट्रेलिया र न्युजिल्याण्ड भ्रमणका लागि देश छाड्ने भएका हुन्। चीनको हेनान प्राप्तको बोआओमा हुने बोआओ फोरम फर एसिया (एसियाली राष्ट्रहरूको बोआओ मञ्च) मा सहभागी हुन् प्रधानमन्त्री चीन जाने तयारीमा छन् । उनको भ्रमण बेइजिङबाट सुरु हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

१० चैत बेइजिङ हुँदै प्रधानमन्त्री दाहाल बोआओ पुग्नेछन्। हरेक वर्ष बोआओमा हुने सम्मेलनमा चीनले प्रत्येक वर्ष नेपाललाई निम्तो दिँदै आएको छ । चीन भ्रमणका क्रममा नेपाल र चीनबीच ओबीओआर परियोजनाको समझदारी पत्र (एमओयू) मा हस्ताक्षार हुने भएको छ। परराष्ट्र स्रोतका अनुसार दुई देशले एमओयूमा हस्ताक्षरका लागि गृहकार्य थालिसकेका छन्। चीनले प्रस्ताव गरेको ओबीओआर परियोजना प्रस्तावमा लामो समय नेपालले कुनै प्रतिक्रिया दिएको थिएन ।

यस्तै, पूर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनमा दाहाल सरकारले उदासीनता देखाएको भन्दै चीन नेपाल सरकारप्रति सशंकित भएको थियो। पछिल्लोपटक नेपाल सरकारले ओबीओआरलाई सकारात्मक रूपमा लिँदै चीनलाई साथ दिने प्रतिबद्धता जनाएको छ। नेपालको प्रतिबद्धतासँगै चीनले प्रधानमन्त्री दाहालको चीन भ्रमणलाई औपचारिकता दिँदै राजकीय बनाउने तयारी गरेको हो । प्रधानमन्त्री दाहाल १० चैतमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ प्रस्थान गर्नेछन्। उनले ११ चैतमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्ने तालिका बनाइएको छ । भ्रमणलाई फलदायी र सफल बनाउन परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासबीच नियमित छलफल भइरहेको छ । बिहीबार मात्र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ राजदूत यु होङबीच भ्रमणको विषयमा छलफल भएको थियो।

ओबिओआर परियोजना कार्यान्वयन गर्न राजनीतिक दल, सरकार, बुद्धिजीवी, नागरिक समाज, गैरसरकारी संस्थालगायत सबै पक्षको ऐक्यबद्धताको उत्तिकै महत्त्व रहेको बताउँदै राजदूत युले संयुक्त छलफलबाट नै निष्कर्ष पुगिने अभिमत जनाइन्। ‘चीन नेपालसँग सहकार्य गर्न चाहन्छ, पारस्परिक सहयोगका माध्यमबाटै प्रगतिको पथमा अग्रसर हुन सकिन्छ भन्ने उद्देश्यका साथ ओबीओआर र रोड एन्ड बेल्टको अवधारणा अघि सारिएको हो,’ उनले भनिन्। ओबीओआरसँगै प्रधानमन्त्री दाहाल र राष्ट्रपति सीबीच हुने भेटवार्तामा नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौतालाई कार्यान्वयन प्रक्रियामा लैजानेबारे पनि छलफल हुने परराष्ट्र स्रोतले बताएको छ।

गत वर्ष एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सो सम्झौता भएको थियो । दाहाल प्रधानमन्त्रीका रूपमा आएपछि चीन सरकार र ओली नेतृत्वको सरकारबीच भएका सम्झौता आगाडि बढ्न सकेका थिएनन्। बोआओ सम्मेलनमा एसियाका २८ राष्ट्रका प्रतिनिधिहरूको सहभागिता हुनेछ । ९ देखि १३ चैतसम्म हुने सम्मेलनमा प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयको भनाइ छ। राजधानी दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np