राप्रपाद्धारा आन्दोलनको घोषणा,आन्दोलन नरम शैलीको

प्रकाशित मिति: Mar 18, 2017  

काठमाडौं,चैत ५ । निर्वाचन आयोगले पार्टीको विधानबाट राजतन्त्र र हिन्दु राष्ट्र हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनको घोषणा गरेको छ। पार्टी मुख्यालय धुम्बाराहीमा बसेको राजधानीमा उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुको आकस्मिक बैठकले आयोगको कदमले निर्वाचनको वातावरण धमिल्याएको भन्दै ‘राजतन्त्रसहितको प्रजातन्त्र र हिन्दु राष्ट्र’ हटाएको विरोधमा राप्रपाले आन्दोलनको घोषणा गरेको हो।

प्रवक्ता रोशन कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रस्तावना र उदेश्यमा उल्लेखित मुलभूत मान्यतालाई हटाएर पार्टीको विधान परिवर्तन गर्ने गरी निर्वाचन आयोगले २०७३ चैत ४ गते गरेको निर्णय आपत्तिजनक एवम् संविधानको मर्म र भावना विपरित रहेको राप्रपाको ठहर छ।’

राप्रपाले सार्वजनिक गरेका आन्दोलन
-निर्णय पुनर्विचारको निमित्त आग्रह गर्दै सम्पूर्ण जिल्ला सदरमुकाममा चैत ७ गते जुलुससहित गएर जिल्ला निर्वाचन कार्यालय समक्ष ज्ञापनपत्र बुझाउने र एक घण्टा निर्वाचन कार्यालय अगाडि धर्ना दिने,
-काठमाडौंमा निर्वाचन आयोगको कार्यालय बहादुर भवन अगाडि एक घण्टा धर्ना दिने र आयोग समक्ष ज्ञापनपत्र बुझाउने,
-सो निर्णयबाट पार्टीको संबैधानिक हक खोसिएको वारे कानुनी उपचार खोज्ने,
-चैतको तेस्रो हप्ताबाट हिन्दु राष्ट्र पुनस्र्थापनाको माग राखेर देशव्यापी शान्तिपूर्ण सडक संघर्ष गर्ने र
-धर्मनिरपेक्षताको खारेजी र हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि तत्काल संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्ने तथा सदनमा सशक्त रुपमा आवाज उठाउने।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np