एनआरएन अमेरिकाको सदस्यता नविकरण गर्न एक दिन बाँकी , अन्तिम समयमा सदस्यता लिने लहर

प्रकाशित मिति: Mar 14, 2017  

ड्यालस (टेक्सस) – एनआरएन अमेरिकाको आगामी निर्वाचनमा सहभागी हुन सदस्यता नविकरण गर्न एक दिन बाँकी छँदा सदस्यता करिव ७ हजार ५ सय पुगेको छ ।

यो दुइ बर्ष अघिको भन्दा झण्डै ३ हजारले कम हो । यस पटक सदस्य बन्न आवेदन दिनेको पनि छानविन गर्न भने बाँकीनै छ ।

सोमवार एनआरएन वेवसाइट केही घण्टा अवरुध्द भएको थियो । यसले गर्दा पनि सोमबार सदस्य संख्या बृध्दि केही सुस्त भएको हो । एनआरएन वेवसाइटमा गएर नाम ठेगाना, आईडीको पछिल्लो चार अंक, इमेल भरेर सदस्यता लिन सकिन्छ । यसका लागि १५ डलर शुल्क पनि तिर्नुपर्छ ।

सोमवार केही घण्टा एनआरएन वेवसाइटमा अवरोध आउँदा समाजिक संजालमा आक्रोस युक्त प्रतिकृयाहरु आएका थिए । वेवसाइटमा प्राविधिक कारणले समस्या आएको सूचना राखिएको थियो ।

यो अवरोधका कारण केही दिन सदस्यता लिनका लागि समय केही दिन थप हुने संभावना पनि रहेको एनआरएन अमेरिकाका पदाधिकारीले वताए । ‘धेरैको सुझाव समय थप गर्नुपर्छ भन्नेपनि छ,’ एनआरएन अमेरिका अध्यक्ष डा केशव पौडेलले भने–‘तर, यसबारेमा अहिलेसम्म कुनै निर्णय भएको छैन ।’

करिव तीन साता अघिसम्म जम्मा ४ सय ६३ सदस्य मात्र रहेको अमेरिकामा केही दिन यता विस्तारको गति तिव्र भएको हो । टेक्ससमा सवैभन्दा बढी सदस्य छन् । टेक्ससबाट मात्र दुइ हजार भन्दा बढीले सदस्यताको लागि आवेदन दिएका छन् । टेक्ससबाट अध्यक्षका लागि राम सी पोखरेल र गाैरीराज जोशीले उम्मेदवारी दिने चर्चासँगै सदस्य व्यापक रूपमा बढेका हुन् ।

संख्याको हिसाबले टेक्ससपछि बढी सदस्य रहेका राज्यहरूमा न्यूयोर्क र क्यार्लिफोनिया दोस्रो र तेस्रो नम्बरमा छन् । दुइ बर्ष अघि एनआरएन अमेरिकामा १० हजार ५ सय भन्दा बढी सदस्य थिए । एनआरएनले गरेको अध्ययनले अमेरिकामा करिव २ लाख ५० हजार नेपाली रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । यस आधारमा अहिलेको सदस्य संख्या निकै कम हो ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np