को होला त प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्ष ? को–को हुन् नेतृत्वका आकांक्षी ?

प्रकाशित मिति: Mar 7, 2017  

न्यूयोर्क, प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेशन यहि महिनाको अन्त्यमा मेरिल्याण्ड राज्यको बाल्टीमोरमा हुन लागेको छ । मार्च ३१ देखि अप्रिल २ सम्म हुन लागेको दोश्रो अधिवेशनका लागि यति बेला बिभिन्न २४ वटा राज्यबाट प्रतिनिधी छनौट समेत भईसकेका छन् । चार बर्ष अगाडि न्यूयोर्कमा सम्पन्न भएको मन्चको पहिलो अधिवेशनले न्यूयोर्कका सन्जय थापाको नेतृत्वको कार्य समिति बनाएको थियो । एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालले उद्घाटन गरेको मन्चको पहिलो अधिवेशनबाट बनेको समितिको बिदाई गर्दै नयां नेतृत्व चयन गर्ने यस अधिवेशन उद्घाटन गर्न एमाले अध्यक्ष केपी ओली आउने मन्चका नेताहरुले बताउदै आएका छन् ।
कस्ले गर्ला त नेतृत्व ?
नेकपा एमालेको भातृ संस्थाको रुपमा हेरिने प्रवासी नेपाली मन्च अमेरिकाले पहिलो अधिवेशन सम्पन्न गरेपछि अमेरिकाका बिभिन्न २४ राज्यमा यसको शाखाहरु बिस्तार गर्न सफल भएको छ । २४ बटै शाखाबाट प्रतिनिधी छनौट भएर बाल्टीमोरमा भेला भएपछि त्यहि भेलाले नै मन्चको नया नेतृत्व चयन गर्नेछ । यतिबेला मन्चको साधरणसभाको तयारीका साथै नेतृत्व कस्ले गर्ने भन्ने बिषय धेरैले चासोका साथ हेरेका छन् । मन्चको अबको नेतृत्वका लागि लगभग आधा दर्जन जति आकांक्षीहरु देखिएका छन् । मन्चका बर्तमान अध्यक्ष सन्जय थापाले कार्यकाल नदोहोर्‍याउने संकेत गरेपछि र बरिष्ठ उपाध्यक्ष बाला घिमीरेले पनि अध्यक्षका लागि चासो नदेखाएपछि मन्चको नेतृत्वका लागि अझै धेरै आकांक्षी देखिएका छन् । मन्चको अध्यक्षका लागि बर्तमान महासचिव प्रभु थापाले आफुलाई बलियो दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । आफुले महासचिवमा काम गरिसकेको र सबैलाई समेटेर जान सक्ने क्षमता रहेको महासचिव थापाको दाबी छ । अध्यक्ष पदका लागि बाल्टीमोरमा रहेका थापासंगै न्यूयोर्कका टेक गुरुङ्गले पनि दाबी गरेका छन् । आफु लामो समयदेखि मन्चका लागि सकृय रहेको र सबैको साझा उम्मेदवार बनेर संस्था हाक्न सक्ने क्षमता रहेको उनको दाबी छ । अध्यक्षको लागि बर्तमान कोषाध्यक्ष शंकर पन्त, टेक्सासका जनक राना, केन्टुकीका प्रिती खत्री र शिकागोका टेकराज पौडेल समेतको दाबी रहेपनि अन्त्यमा महासचिव थापा र न्यूयोर्कका गुरुङ्ग मध्ये नै प्रतिस्प्रधा हुने निश्चीत देखिन्छ । यस्तै संस्थाको महत्वपुर्ण पद मानिने महासचिव पदमा भने न्यूयोर्कमा रहेका युवा राधाकृष्ण देउजा र लाक्यन लामाको चर्चा छ । लेखन कार्यका साथै एमालेका शिर्ष नेतृत्वसंग राम्रो सम्बन्ध रहेको र मन्चमा सहमती बाटै नेतृत्व चयन गराउन लागिपरेका देउजा सबैको सहमती बनेमा आफु महासचिवको लागि तयार रहेको बताउछन् । देउजालाई सहमतिबाटै महाचिवमा ल्याउन अध्यक्षका उम्मेदवारहरु पनि लागेका छन् । तर महासचिव पदमा रहेर आफुले संस्थामा बिषेश भुमिका खेल्ने अर्का आकांक्षी लामाको भनाई रहेको छ । लामा पनि सहमतीबाटै नेतृत्व चयन गरेर आफु महासचिव बन्ने पक्षमा छन् । यस्तै अन्य पदाधाकारीमा भने अध्यक्ष पदका आकांक्षी लगायत यमुना भट्टराई, सोमेन्द्र रन्जीत , सिता खरेल, कुन्ती थापा, जिवन जोशी, कमल ओझा लगायतले चासो देखाएका देखिन्छन् ।
कार्यक्रमको तयारी कस्तो छ ?
बाल्टीमोरमा हुने कार्यक्रमको लगभग सम्पुर्ण तयारी पुरा भएको मन्चका अध्यक्ष सन्जय थापाले बताएका छन् । थापाका अनुसार २४ राज्यबाट आउने दुई सय भन्दा धेरै प्रतिनिधी र पर्यवेक्षक लगायतको उपस्थितीमा उद्घाटन र उद्घाटन पश्चात हुने बन्द सत्रले नयां नेतृत्व चयनका साथै आगामी यात्राको पनि तय गर्नेछ ।
आउलान् त उद्घाटन गर्न अध्यक्ष ओली ?
प्रवासी नेपाली मन्च अमेरिकाको अधिवेशन केहि महिना पहिले अर्थात् डिसेम्बर महिनामै गर्ने योजना राखेको मन्चले अध्यक्ष ओली त्यतीबेला आउन नसक्ने भएकोले नै अधिवेशन पछाडि सारेको थियो । अहिले नेपालमा स्थानीय निकायको निर्बाचनको तयारीमा ब्यस्त ओली उद्घाटनकै लागि अमेरिका आउने सम्भावना कम हुंदै गएको देखिए पनि मन्चका अध्यक्ष थापा भने अझै पनि अध्यक्ष ओलीलाई अमेरिकामा ल्याउने कुरामा आशाबादी रहेका छन् । मन्चको अशिवेशन उद्घाटन र अमेरिकामा उच्च तहका अधिकारीहरुसं भेटघाट गर्ने योजना बनाएका ओली स्थानिय निर्बाचनले ब्यस्त भएर आउन नसक्ने संकेत गरिसकेका छन् । उद्घाटनका लागि अध्यक्ष ओली अमेरिका आउने समाचारले सम्मेलनको महत्व बढेको देखिए पनि ओली आउन नसकेमा महासचिव ईश्वर पोखरेल आउने र पाखरेल पनि आउन नसकेमा एमालेका संगठन बिभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ्गले उद्घाटन गर्नेछन् ।

मन्च अब कसरी अगाडि बढ्ला त ?
अमेरिकामा रहेको एमालेको भातृ संस्थाको रुपमा बुझिने मन्चले चार बर्ष अगाडि न्यूयोर्कमा पहिलो अधिवेशन गरेपछि नेपाली समुदायमा आफ्नो उपस्थिती देखाएको हो । मन्चलाई एमालेको भातृ संस्थाको रुपमा हेरिए पनि मन्चका अध्यक्ष सन्जय थापाले आफुहरु भातृ संस्था भन्दा पनि नेपालमा रहंदा एउटै बिचारमा रहेका साथीहरुको सामाजिक संस्थाको रुपमा ब्याख्या गर्दछन् । मन्चले अझै पनि नेपाली समुदायमा लोकप्रियता कमाउन नसकेको र आर्कषक कार्यक्रमहरु ल्याउन नसकेको आरोप खेपे पनि अध्यक्ष थापाले भने त्यसको प्रतिबाद गर्दछन् । आफ्नो नेतृत्वमा मन्चले १५ वटा शाखा बिस्तार गर्नुका साथै अमेरिकाको नेपाली समाजमा बलियो संस्थाको रुपमा मन्चलाई उभ्याउन सकेको दाबी गर्दछन् । थापाले आफुहरुले संस्थाको शाखा बिस्तारका साथै नेपालीहरुको हितका लागि अन्य संस्थासंग मिलेर टिपीएसका लागि पहल, नेपाल परेड लगायतका सामाजिक कार्यहरु गरेको बताउछन् । अहिलेको बिधान अनुसार संस्थाको नयां नेतृत्व ३ बर्ष सम्म हुने र अमेरिकामा एनआरएनको निर्बाचान पनि हुन लाग्नुका साथै यहि नेतृत्वको पालामा नै एमालेको अगामी अधिवेशनमा प्रतिनिधी नेपाल जाने हुनाले मन्चको नयां नेतृत्व कस्तो आउला र कसरी अगाडि बढ्ला भन्ने बिषयमा नेपाली समुदायको चासो देखिन्छ ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np