अमेरिकाको नेपाली मन्दिरमा गजुर अनावरण

प्रकाशित मिति: Feb 26, 2017  

ड्यालस (टेक्सस) अमेरिका— ड्यालसको अर्बिङमा रहेको नेपाली मन्दिरको बाहिरी स्वरुप पूर्ण रुपमा बदलिएको छ । झण्डै पचास हजार डलर ($५०,००.००) डलरको लागतमा मन्दिरको मुलद्वार निर्माण र गजुरको प्रतिस्थापनपछि मन्दिरमा पहिलेको स्वरुप पुर्ण रुपमा फेरिएको छ ।

महाशिवरात्रीको अवसरमा नयाँ मुलगेट र गजुरको अनावरण सहित मन्दिरको भव्य समारोहबीच समुद्घाटन गरिएको छ । त्यस अवसरमा टेक्ससका बिभिन्न ठाउँहरुबाट नेपालीहरुको निकै उत्साहप्रद सहभागिता थियो । नेपाली संस्कृतिको अभिन्न अंग मानिएको पञ्चैबाजा सहित सांस्कृतिक झाँकी सहितको र्याली साथ सुरु भएको कार्यक्रमले स्थानीय रुपमा निकै रौनकता दिएको थियो । अधिकांश सहभागी महिला पुरुषहरु नेपाली राष्ट्रिय पोशाकमा सहभागी भएका थिए ।

गजुर राखेपछि मन्दिर भन्न सुहाउने अवस्था आएको सहभागीहरुको प्रतिकृया थियो । गजुर नहुँदा एउटा टहरो जस्तो आकारमा रहेको मन्दिरले नयाँ रुप ग्रहण गरेकोमा नेपाली समुदाय निकै प्रफुल्लित थियो ।

शनिबार आयोजित विशेष कार्यक्रममा पशुपतिनाथ बुद्ध मन्दिरलाई स्थापनादेखि अहिलेसम्म ल्याइपु¥याउन सकृय सहयोग गर्नुभएका समाजसेवी डा मुरलीप्रसाद अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै मन्दिरलाई बिभिन्न रुपमबाट सहयोग गर्ने दाताहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा मन्दिर स्थापनादेखि हालसम्मको खर्च समेत सार्वजनिक गरिएको थियो । सार्वजनिक विवरण अनुसार २ लाख ६५ हजार डलरमा जमिन किनिएको र ४ लाख ५१ हजार डलरमा भवन खरिदमा खर्च भएको छ । भवन खरिदका लागि ७५ हजार डलर डाउन पेमेन्ट गरिएको, मन्दिरको पुनर्निमाण, मर्मतका लागि ४ लाख ५० हजार खर्च गरिएको छ । मुर्तीका लागि ८० हजार डलर खर्च भएको विवरण सार्वजनिक गरिएको छ । हाल खातामा झण्डै २ लाख २० हजार डलर खातामा वचत रहेको बोर्ड अफ ट्रस्टीका भाइस चेयरम्यान मनोज सिग्देलले हिमालय खबर संग बताए । मन्दिरले ३ लाख ७५ हजार डलर बैंकबाट ऋण लिएको छ ।

अहिलेको मूल्य अनुसार जग्गाको ६ लाख डलर भवनको अनुमानित बजारमूल्य १० लाख डलर रहेको छ । नेपाली मन्दिर टेक्ससका नेपालीहरुलाई एक बनाउने सांस्कृतिक स्थलका रुपमा परिचित छ ।
हिमालय खबरबाट

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np