पत्रकारसंग टाढिदैं राष्ट्रपति ट्रम्प

प्रकाशित मिति: Feb 26, 2017  

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसका पत्रकारहरुको समूहले आयोजना गर्ने रात्रिभोजमा आफू सहभागी नहुने घोषणा गरेका छन्।
ह्वाइट हाउस र केही सञ्चारगृहबीच सम्बन्ध बिग्रिरहेको बेला उनको यस्तो भनाई आएको हो।
ह्वाइट हाउस करेसपोन्डेन्ट एशोसियसनले वार्षिक रुपमा गर्ने उक्त रात्रिभोजमा राजनीतिज्ञ, विभिन्न विधाका चर्चित व्यक्तिहरु र पत्रकारहरुको उपस्थिति रहने गर्छ।
अवसर
ह्वाइट हाउसमा हुने पत्रकारहरुको रात्रिभोज कार्यक्रम खासगरी राष्ट्रपति र पत्रकारहरुबीच भएको कुनै मतभेद भए त्यसलाई पन्छाउने एउटा अवसर हो।
झन्डै १ सय वर्षदेखि हुँदै आएको यो उच्च तहको कार्यक्रममा अहिलेसम्म १५ जना राष्ट्रपतिले उपस्थिति जनाइसकेका छन्।
तर राष्ट्रपति ट्रम्प र पत्रकारहरुबीच हालैका साताहरुमा सम्बन्ध बिग्रिएको छ।
ट्रम्पले केही सञ्चारगृहहरुलाई गलत समाचार सम्प्रेषण गर्ने गरेको र उनीहरु अमेरिकी जनताको दुश्मन भएको बताएका छन्।
बीबीसीकी लाउरा बिकरले यो दूरी घटाउने मनस्थितिमा राष्ट्रपति नदेखिएको बताउँदै भनिन्, “वार्षिक रुपमा आयोजना हुने यो चमकधमकपूर्ण रात्रिभोजमा थुप्रै गन्ने मान्ने व्यक्तिहरु र पत्रकारहरु भेला हुने गर्थे अनि त्यहाँ राष्ट्रपति र पत्रकारसँगै बसेर आफूबीचको वैरभाव हटाउँथे। र, राष्ट्रपतिले यसपालि आफूले त्यसो नगर्ने निर्णय गरेका छन्।”
परम्परा
शुक्रबार बीबीसी, सिएनएन, न्यूयोर्क टाइम्सलगायतका केही प्रभावशाली सञ्चारमाध्यमलाई राष्ट्रपतिका प्रवक्ता शन स्पाइसरले पत्रकारहरुलाई गरेको ब्रिफ्रिङमा भाग लिनबाट बञ्चित गरिएको थियो।
सञ्चारमाध्यमप्रति ट्रम्पको व्यवहारका कारण भ्यानिटी फेयर, ब्लुमबर्गजस्ता सञ्चारमाध्यमले एप्रिलमा हुने त्यस्तो रात्रिभोज आयोजनामा आफू संलग्न नहुने बताएका थिए।
ह्वाइट हाउस करेसपोन्डेन्टस एशोसियसनले झण्डै १ सय वर्षदेखि आयोजना गर्दै आएको उक्त वार्षिक कार्यक्रममा राष्ट्रपति उपस्थित भएर एउटा संक्षिप्त मन्तब्य दिने परम्परा छ।
रात्रिभोज आयोजकले अमेरिकी संविधानको पहिलो शसोधनको र स्वस्थ शासन व्यवस्थाका लागि स्वतन्त्र सञ्चारमाध्यमले खेलेको भूमिकाको सम्मानमा आफ्नो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np