राप्रपामा पदाधिकारी मनोनयनको तयारी, क–कसको चर्चा ?

प्रकाशित मिति: Feb 25, 2017  

काठमाडौं– हालै पार्टीको एकता महाधिवेशन सम्पन्न गरेको राप्रपाले एक साताभित्रै पदाधिकारीको मनोनयन गर्ने तयारी गरेको छ ।
राप्रपाको महाधिवेशनबाट १ अध्यक्ष र ९८ जना केन्द्रीय सदस्यको चयन गरिएको थियो । पदाधिकारी भने अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।
राप्रपाको संशोधित विधानअनुसार अध्यक्षसहित २७ जना पदाधिकारीको कार्यसमिति गठन गरिने उल्लेख छ । जसमा अध्यक्षबाहेक पाँच उपाध्यक्ष, चार महामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता, पाँच सहमहामन्त्री, सात सहायक महामन्त्री, एक सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ताको व्यवस्था गरिएको छ । राप्रपा स्रोतका अनुसार पदाधिकारीका लागि तीन दर्जनबढी नेताहरु आकांक्षी रहेका छन् । ति मध्येबाट केहि पदाधिकारी अध्यक्ष कमल थापाले यसै साताभित्र मनोनयन गर्ने तयारी गरेका हुन् ।
राप्रपाका एक नेताले दिएको जानकारी अनुसार पदाधिकारीमा क–कसलाई ल्याउने भनि अध्यक्ष कमल थापाले वरिष्ठ नेताहरु लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणासँग परामर्श गर्दै आएका छन् । चन्द, लोहनी र राणा निकटकासमेतका नेताहरुलाई समेटेर पदाधिकारी मनोनय गर्ने तयारीमा थापा लागेका हुन् ।
दुई राप्रपाबीच एकता हुनुअघिको राप्रपा नेपालको अध्यक्ष हुँदा थापाले मनपरी निर्णय गर्दै आएको सम्मको आरोप लाग्ने गरेको थियो । तर अहिले तीन नेताको चेपुवामा परेका थापाले सहमतिकै आधारमा पदाधिकारी मनोनयन गर्न लागेका हुन् ।

पदाधिकारीमा अध्यक्षको विवेक समेत प्रयोग हुने भएपनि सबैको चित्त नबुझाइए विवाद सिर्जना हुने हुँदा थापा सकसमा रहेको बताइन्छ ।
स्रोतका अनुसार पहिलो चरणमा थापाले नेताहरु बुद्धिमान तामाङ, राजीव पराजुली, नरेन्द्र चौधरी, दीपक बोहरा, दीलनाथ गिरी, धु्रव बहादुर प्रधानमध्येबाट उपाध्यक्ष मनोनयन गर्नेछन् ।
यस्तै महामन्त्रीमा टंक ढकाल, राजेन्द्र लिंदेन, विक्रम पाण्डे, सुनिल थापालगायत दाबेदार रहेका छन् ।
यस्तै सहमहामन्त्री पाँच विकास क्षेत्रबाट प्रतिनिधित्व हुने गरी तथा ७ सहायक महामन्त्री ७ प्रदेशको प्रतिनिधित्व हुने गरी मनोनयन गरिनेछ ।
कोषाध्यक्षमा भने उद्धव पौडेलको सम्भावना प्रवल रहेको छ । प्रवक्तामा राजाराम श्रेष्ठ र मोहन श्रेष्ठमध्येबाट एक जना हुने सम्भावना छ । यसअघि पार्टीको सहप्रवक्ता रहेका मोहनले नयाँ कार्यकालमा प्रवक्ताको दाबेदारी प्रस्तुत गरेको बताइन्छ ।
राजारामलाई प्रवक्ता बाहेकको अरु कुनै पदमा मनोनयन गरिए श्रेष्ठलाई प्रवक्ता बन्ने बाटो खुल्ला हुनेछ ।
यस्तै सहप्रवक्तामा राजाराम बर्तौलाका साथै सगुन लावतीको चर्चा छ । बर्तौला थापा निकटका हुन् भने लावती तत्कालिन राप्रपा नेपालसँग बिद्रोह गरेर राप्रपा नेपाल सुद्धिकरण अभियान चलाउँँदै एकताअघि राप्रपामा प्रवेश गरेका थिए ।
राप्रपाको एकता महाधिवेशन बुधबार अध्यक्ष र ९८ केन्द्रीय सदस्य चयन गर्दै सकिएको थियो । बुधबारनै थापाले १५ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । मनोनयनमा परेकामध्ये अधिकांश पदाधिकारी बन्ने लाइन छन् ।
रातोपाटीबाट

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np