ओलीले निर्वाचन आयोगलाई भने- कानुनी अप्ठेरो लाग्या भए गोविन्द केसीलाई सोधे हुन्छ

प्रकाशित मिति: Jan 10, 2018  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्।

बैंकक उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओलीले अहिलेको सरकार सत्ता लम्ब्याउन लागिपरेको आरोप लगाए।

‘तपाईहरुलाई सम्झना होला, यो देशमा चुनाव भएको थियो,’ ओलीले भने, ‘अहिलेको सरकार चुनावै नभएजस्तो गरी सत्तामा बसिरहेको छ। पहिला राष्ट्रिय सभा अध्यादेश भनेर अड्काइयो, अहिले प्रदेशको राजधानी भनेर सत्ता तन्काउन खोजिएको छ।’

उनले तत्काल सरकार हस्तान्तरण गर्नु पर्नेमा जोड दिए।

निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्न कानुनी समस्या भएको बताए पनि कुरो अरु नै भएको उनले बताए।

‘सुनिदैँछ निर्वाचन आयोग पनि ‘ब्ल्याकमेलिङ’को सिकार हुँदैछ, त्यो उहाँहरुले जान्ने कुरा हो,’ ओलीले भने।

उनले प्रधानन्याधीश गोपाल पराजुलीको बर्खास्तगी माग गरेर अनसन बस्दा अदालतको अपहेलना मुद्दा झेलिरहेका डाक्टर गोविन्द केसीलाई पनि यही विषयमा जोडेर ब्यंग्य गरे।

‘कुनै कानुनी अप्ठेरो लाग्या भए गोविन्द केसीलाई सोध्नुभए हुन्छ, केसीजीले धेरै वटा कुरा फटाफट भनिराख्नु भएको छ, के भनेको हो त्यो? अदालतले पनि बुझ्ला, जान्ला, केके भन्या हो,’ ओलीले भने, ‘जे होस् यो प्रक्रिया बिलम्ब गर्न खोजिएको छ।’

ओलीले माओवादीसँगको एकताबारे भने केही बोलेनन्।

किड्नी फेरेकाले आफू नियमित रूप परीक्षण गर्न बैंकक जान लागेको ओलीले बताए।

उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ।

 साभार-सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np