अमेरिकामा नौमती बाजा घन्काउने थापा दाई

प्रकाशित मिति: Dec 27, 2017  

मान्छेभित्र जति गुण छन्, त्यति गुण सारंगीको मेलोडीले जागृत गराइदिन्छ । त्यसैले गन्धर्व लोक स्वर्गलोकभन्दा अझै माथि राखिएको छ ।’

विष्णुप्रसाद पौडेल-

न्युयोर्क-

युद्ध र प्रेममा जे पनि जायज हुन्छ भनिन्छ । तर यी बिल्कुल विपरीत धारका विषय हुन् भन्ने एकैछिन घोरिएर सोचेपछि थाहा भइहाल्छ । प्रेममा करुणा, माया, दया, संवेदनशीलता र नैतिकता हुन्छ । तर युद्धमा तिनको सर्वथा अभाव हुन्छ । वास्तवमै भन्ने हो भने युद्धमा कसैले जित्ने भन्दा पनि मानवीयताको हार हुन्छ, प्रेमको हार हुन्छ, करुणा र दयामायाको हार हुन्छ । सैनिक जीवन र युद्धचाहिँ अन्योन्याश्रित हुन् । हरिबहादुर थापाले सैनिक जीवन त बिताए र तर उनको ध्रुव युद्धतिर सोझिएन प्रेमतिर सोझियो, दयामाया, करुणा र मानवीयतातिर सोझियो ।

सैनिक भए पनि मानब अधिकार क्षेत्र तर्फ उनको कार्य क्षेत्र थियो । भारतीय सेनाका यी निवृत्तका व्यवहार देख्दा कसैले भन्न सक्दैन कि उनी कुनै बेला सैनिक थिए । संयोग पनि यस्तो भइदियो कि आध्यात्मिक रुझानका यिनले सैनिक जीवनमा पनि युद्धसँग साक्षात्कार गर्नैपरेन । अंकलको सहारामा लागेर भारत पुग्दा उतै भर्ती भएका उनले सैनिक जागिरका सिलसिलमा पनि बन्दुक समाएरभन्दा कलम समाएरै ड्युटी निर्वाह गरे । लडाइँ र युद्धका कामका लागि भन्दा पनि मानवअधिकारको क्षेत्रमा ड्युटी गरे ।

बागलुङमा जन्मिए पनि सीमा जिल्ला गुल्मीमा पढे उनले । घर बागलुङतिर खेत गुल्मीमा थियो । गुल्मीतिरै आइजाइ बढी हुन्थ्यो । पढाइ लेखाइ पनि गुल्मीमै भयो । पढाइलेखाइ अब्बल थियो उनको । १४ वर्षमै उनले सन् १९८७ मा एसएलसी पास गरेका हुन् । एसएलसीमा अब्बल भएकैले साइन्स पढ्न उनी काठमाडौंको अमृत साइन्स कलेज (अस्कल) भर्ना भए । १६ वर्षमै आइएस्सी उत्तीर्ण गरे । त्यसपछि भने भारत जाँदा उतै भर्ती भए । आर्मीमा हुँदा पनि ब्याचलर पढे अनि पछि डिग्री पास गरे ।

हरि २००६ बाट अमेरिका बस्न थालेका हुन् । ‘त्यसअघि आउनेजाने हुन्थ्यो,’ उनी भन्छन्, ‘सुरु सुरुमा ग्यास स्टेसनमा काम गरियो, कम्पनीहरुमा काम गरियो ।’ विस्तारै उनी सामाजिक काममा होमिए । त्यसैको सिलसिलामा आफूभित्रको प्रतिभा सार्वजनिक गर्दै लगे । जुन प्रतिभा आध्यात्मिकसहित गीतसंगीतको पनि थियो । भन्छन्, ‘सामाजिक कामकै सिलसिलामा रामलीला देखाउन लागियो । कृष्णलीला देखाउन लागियो । शिव ताण्डव नृत्य देखाउन लागियो । शिव ताण्डव नृत्यको स्क्रिप्ट आफैं लेख्न थालियो ।’

हो, अहिले अमेरिकाका नेपाली पहिचान देखिने कलाकौशलको चर्चा परिचर्चा हुँदा हरिबहादुर थापालाई छुटाउन हुँदैन । यहाँ सबै जातिका नेपालीका कलाकौशल र भेषभुषा र गीतसंगीत बेलाबखत सार्वजनिक हुन्छन्, सार्वजनिक कार्यक्रमहरुमा । त्यसमा पनि नेपालको मौलिक बाजा नौमती भने हरिबहादुर थापा नेतृत्व टिमले प्रस्तुत गर्छ । धेरैथरी कलाका धनी नेपालबाट अमेरिका आएका भए पनि नेपालमै लोप हुन आँटेको यो नौमती बाजाको धुन अमेरिकी आकाशमा गुञ्जाउने श्रेय भने हरिबहादुरलाई दिनुपर्छ ।

पारिवारिक हिसाबले उनी लाहुरे हुनु स्वाभाविक थियो । क्षेत्री हुनुको नाताले पनि उनी भर्ती भएको र पुख्र्याैली पेसा अपनाएको भन्न सजिलो थियो । जब कि त्यो पनि उनी संयोगले भएका थिए, रुचि र रहरले होइन । रुचि र रहरले उनी संगीतकर्मी पो भएका छन् । जुन उनको पुख्र्याैली कर्म थिएन । सानो छँदा त उनलाई गीतसंगीतबाट टाढै रहनुपर्ने बाध्यता थियो, पारिवारिक र सामाजिक कारणले । तर जब अमेरिका आए उनले संगीत आफ्नो मनको अन्तरकुन्तरमा कतै न कतै सुषुप्त रुपमा लुकेको छ भन्ने भेउ पाए । मानिसहरुका मनोविज्ञान अध्ययन गर्न थाले । एक दिन एउटा ठहर गरे कि संगीतले मान्छेको आनीबानीमै परिवर्तन ल्याउन सक्छ, जीवन बदल्न सक्छ । मान्छेभित्रको वास्तविक मान्छेलाई बौर्‍याउने काम संगीतले गर्न सक्छ भन्ने उनको ठम्याइ हुन पुग्यो । उनले देखेका थिए, कि मान्छेमा मान्छे भेटिन छाडेको छ, मान्छे यान्त्रिक भइरहेको छ, मान्छेमा मानवीय गुणहरु हराउँदै जान थालेका छन् ।

आमाबाबुलाई आश्रममा छाडेर छोराछोरी छुट्टै बस्ने संस्कार देखेर हरिको मनमा हुन्डरी मच्चियो । जन्मदिने आमाबाबुलाई नै त्यसो गर्नेहरुमा मानवीयताको अंश रहेनछ भन्ने मनमा लाग्यो । त्यसबारे मनोविज्ञानका ज्ञातासँग नजिक रहेर स्वअध्ययन गरे । दया, माया, करुणा कहाँ हरायो भन्ने उनको खोजको विषय रह्यो । प्रेम के हो भनेर लेख्न र भन्न त जसले पनि सक्छ तर प्रेम गर्नु ठूलो कुरा हो भन्ने हरिको ठम्याइ जो छ । त्यसपछि हरिले आध्यात्मिक भजन पनि लेखे । ती भजनमा मानवीय संवेदनशीलताको खोजी गरिएको छ ।

मानिसमा भएको गुण अनुसार स्वभाव बन्छ भन्ने हरिबहादुर थापा अभिभावकलाई परित्याग गर्नुका पछाडि उनीहरुले लिएको र पाएको शिक्षामा पनि कमजोरी देख्छन् । त्यसैले मान्छेमा दयामाया र करुणा जगाउने हेतु राखेर भजन लेखे । त्यस्तो भजन जसले मान्छेमा जागृति ल्याओस् भन्ने उनको उद्देश्य हो । भन्छन्, ‘जससम्म मान्छेले मेलोडी सुन्दैन तबसम्म दयामाया र करुणा जाग्दैन ।’ त्यस्तो मेलोडी सारंगी, बाँसुरीमा छ भन्ने पनि उनले पत्तो लगाए । भन्छन्, ‘मान्छेभित्र जति गुण छन्, त्यति गुण सारंगीको मेलोडीले जागृत गराइदिन्छ । त्यसैले गन्धर्व लोक स्वर्गलोक अझै माथि राखिएको छ ।’ नेपाली नौमती बाजा सत्ययुगकै पूर्वकालमा उत्पत्ति भएको हरिबहादुरको अध्ययनको ठहर हो । नौमती बाजाले मूल्यहीन चिजलाई अमूल्य बनाइदिने उनी बताउँछन् । दमाहा भगवान् शिवको बाजा भएकैले शिव मन्दिरमा राखिने गरिएको उनी सुनाउँछन् । ‘नरसिंह बाजा महालक्ष्मीका ९ रुप सम्झिएर बजाइँदो रहेछ’, उनी भन्छन्, ‘ढोलक, झ्याली, ट्याम्को र सनहीका पनि आआफ्नै विशेषता छन् ।’

गीत संगीतलाई रमाइलो र आनन्दसँग मात्रै जोड्न नहुने भन्ने हरिको ठम्याइ छ । गीतसंगीतभित्र ठूलो दर्शन छ भन्ने उनी यस्तो कुरा विस्तारै विस्तारै मान्छेहरुले बुझ्ने विश्वासमा छन् । आफू पनि त्यही दर्शनका कारण आकर्षित भएको बताउँछन् । भन्छन्, ‘नाच्न हुन्न भनेर घरमा हुर्कियौं, तर अचेल मलाई नाच्न मन लाग्छ ।’ बेलाबखतका कार्यक्रममा सबैभन्दा गाह्रो हुने नरसिंह आफू बजाउने र अरु बाजा अरु साथीहरुलाई बजाउन दिने गरेका छन् उनले । हरिको निष्कर्ष भनेको गीतसंगीत रमाइलो र आनन्दमात्रै होइन, दर्शन हो भन्ने हो । त्यही दर्शनमा डुबुल्की मार्दै अरुलाई पनि त्यसको रसस्वादन गराउने ध्याउन्नमा निरन्तर खटिइरहेका छन् ।
उनका २ छोराछोरी र आफ्ना दम्पती गरी ४ जनै अमेरिका बस्छन् । सबै ४ जनाको सिरानीमा सारंगी छुट्दैन । हाला कि सारंगी उनी बजाउन भने सक्दैनन्, जान्दैनन् । भन्छन्, ‘सारंगी छुन हुँदैन भन्ने समाज र परिवारमा जन्मिनाले जानिएन ।’

कसैलाई लाखौं रुपैयाँ दिए पनि शरीरका रौं ठड्याउन सक्दैनन्, तर राष्ट्रिय गीत सुन्नासाथ उही व्यक्तिको रौं ठडिन सुरु हुन्छ । त्यत्तिकै कोही रुन सक्दैन, कारुणिक धुन बज्यो भने आँखाको डिल भत्किन थाल्छ । यही विशेषता हो संगीतको भन्छन् हरिबहादुर । संगीतको त्यही शक्तिको आकर्षणले हरिलाई संगीतमा तल्लीन बनाएको छ । नेपालका सबैजसो जातजातिका भेषभेुषा पनि छन् उनीसँग । भन्छन्, ‘जुन जाति भए पनि हामी सबै नेपाली हौं ।’

नौमती बाजा बजाउँदा एकैचोटि ८/९ चोटि देवीदेउताको पूजा हुन्छ । नौमतीको शक्ति नै त्यही हो भन्छन् उनी । नेपालमा हुँदा न उनी नौमती बाजा बजाउँथे, न त्यो बाजामा नाच्थे । मान्छेको स्वभावमै संगीतले परिवर्तन ल्याउन सक्ने भन्ने कुराले नै हरिलाई संगीत क्षेत्रमा लाग्ने प्रेरणा मिलेको हो । भन्छन्, ‘मान्छे त के रुख बिरुवालाई पनि संगीतले प्रभाव पार्छ । संगीत सुनाउँदै हुर्काएको बिरुवा छुट्टै हुन्छ ।’

नौमती बाजा बजाउँदै हिँड्दा हरिबहादुर प्रशंसा गर्ने धेरै छन् । तर नबुझ्ने पनि नभेटिने होइनन् । कतिले हेयभावले पनि हेर्दा कतिपय अवस्थामा अरुले नचिनून भनेर चश्मा लगाएर पनि हिँड्थ्यो उनको टोली । विवाह वर्तनमा मात्रै होइन अमेरिकाका मठमन्दिरमा नौमती घन्काएका छन् उनीहरुले । राधाकृष्णको मन्दिर सबै साथीभाईहरु मिलेर बनाएको मन्दिरमा आफैले बाजा बजाउँदा उनलाई सबैभन्दा धेरै मन रमाएको थियो । आफ्नो जातिले नगरेको काम गर्‍यो भनेर नेपालमा आमा चिन्तित भएको कुराले पनि हरिबहादुरलाई केही महिना नै पिरल्यो । तर उनले आफू आफैंसँग कन्भिन्स भए । खैजडीमुजुरामात्रै बजाउनुपर्छ, अरु होइन भन्ने जातीय र सामन्ती सोच उनमा अब छैन । पैसाका लागि भन्दा पनि बाजाभित्रको दर्शनले उनलाई तानिरहन्छ । बिशेषत उनी सनाई बजाउने काम गर्छन्
डालस र अस्टिनमा विवाह र सांस्कृतिक कार्यक्रममा बाजा बजाउन निम्तो आउँदा उनी खुसी हुन्छन् । न्युयोर्क र वरिपरिकै विवाहमा त निम्तो आउने भइगह्यो, बरु सबैमा जान भ्याउन गाह्रो हुने गरेको उनको अनुभव छ । सुरुसुरुमा त पैसै नलिई पनि बाजा बजायो उनको टिमले । तर कतिपय साथीहरुले काम छोड्नुपरेको, कतिपयको छोराछोरी बेबी सिटरमा छोडेर आउनुपरेको देखेपछि भने पारिश्रमिक लिनुपर्ने भन्ने लाग्यो । ९/१० जनाको टिमका लागि सधैं पारिश्रमिक नलिई काम गर्न परेको हुँदा थोरैथोरै पारिश्रमिक लिन थालेका छन् । उनको बाजा टिममा १०÷१२ जना छन् । टिमका सबैजसोले यतै अमेरिका आएर सिकेका हुन् बाजाबजानाको सिप । उनको सो समुहमा भिम थापा(स्थानिय कलाकार), इन्द्र थापा, शुकदेव ज्ञवाली, रमेश ज्ञवाली, दान साउद, प्रेम खत्री, भीष्म खत्री, भिम छेत्री, शिव अधिकारी, कमल पौडेल, उत्तम खड्का तथा अन्य साथीहरू रहेका छन् ।

पूर्वीय दर्शनको सानिध्यमा रहनु हरिबहादुरको अर्काे कर्म हो । धर्म, संस्कार को जगेर्ना गर्ने तथा संस्कृतिक मनोरंजन मात्र नभई बैज्ञानिक महत्त्व बढी रहेको कुरा उनी बताँउछन् । घरमा आध्यात्मिक वातावरण थियो । मांस र मदिरा बर्जित थियो । इन्डियामा आध्यात्मिक दर्शनसँग नजिक हुन पाएँ । गीता बाँड्छु । गीता धार्मिक शास्त्रमात्रै होइन, दर्शन हो भन्ने उनको मान्यता छ । ‘धार्मिक दर्शन के हो ? राजनीतिक दर्शन के हो ? आर्थिक दर्शन के हो ? चारीत्रिक दर्शन के हो ? सांस्कृतिक दर्शन के हो भन्ने गीतामा छ । त्यो कुरा मान्छेले बुझून भन्ने मेरो उद्देश्य हो,’ उनी भन्छन् ।

संसारमा अनेक सोच, विचार छन् । सबै चिज सबैका लागि होइनन् । जे आवश्यक छ त्योमात्रै गर्नुपर्छ भन्ने हरि बताउँछन् । ‘सपिङ मलमा भए जति सामान सबैले नकिने जस्तै, संसारका सबै चिज सबैका लागि होइनन्,’ उनी प्रष्ट्याउँछन् । नीति ठूलो कुरा होइन, नियत ठूलो कुरा हो भन्ने हरिको मान्यता छ । भन्छन्, ‘नीति जति राम्रो भए पनि नियत राम्रो भएन भने केही राम्रो हुँदैन, त्यसैले सबैभन्दा पहिला नियत राम्रो हुनुपर्छ ।

 

 

 

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np