न्युयोर्कमा कमलेको बिहे !

प्रकाशित मिति: Sep 20, 2017  

नेपाली चलचित्र ‘कमलेको बिहे’ले न्यूयोर्कमा रेड कार्पेट शो सम्पन्न गरेको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा गत सेप्टेम्बर १९ तारिख प्रिमियर शो सम्पन्न गरेको हो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ । प्रसन्न पौंडेल निर्देशित यस चलचित्रमा बिगत लामो समयदेखि न्यूयोर्कमै बस्दै आएका कलाकार इशान ढकालले प्रमुख भूमिका निर्वाह गरेका छन् । ढकालले यस चलचित्रसँगै अमेरिकामै निमार्ण र छायाँकन भएको चलचित्र “अमेरिकन बाबु मेड ईन नेपाल” दर्जनौं म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकाछन् । चलचित्र कमलेको बिहेमा इशान ढकालसँगै अनुप विक्रम शाही, सन्ध्या केसी, बिनोद न्योपाने, दीपक पहारी, रेशु तामाङ लगायतको मुख्य भूमिका रहेकोछ । चलचित्रमा महेश दवाडीको कथा, पटकथा र संवाद रहेकोछ भने चलचित्रलाई बिदुर पाण्डेले खिचेका हुन् । दीपक मान सिंहको कोरियोग्राफी, सम्राट सापकोटाको द्धन्द्ध रहेको चलचित्रलाई तारा थापा ‘किम्भे’ले सम्पादन गरेका हुन् ।

उक्त प्रिमियर शो कार्यक्रममा चलचित्र प्रदर्शन पुर्व चलचित्रमा समाबेस ‘टाकान टुकुन…’ बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरिएको थियो | झंकार डान्स सेन्टरको सौजन्यमा प्रस्तुत उक्त नृत्यलाई सेन्टरका संचालक धरमबिर लामाले कोरियोग्राफी गरेका थिए | साथै चलचित्रका निर्देशक प्रसन्न पौंडेलले चलचित्रको निमार्ण र प्राविधिकहरुको बारेमा चर्चा गरे । यसैगरी कार्यक्रममा चलचित्रका प्रमुख कलाकार इशान ढकालले चलचित्रमा आफ्नो भूमिका र छायांकनको समयमा आफूले भोगेको अनुभवहरु उपस्थित दर्शकसामु व्यक्त गरे । न्युयोर्कमा चलचित्र मन पराएपछि निर्माण पक्ष भने आगामी प्रदर्शनहरुको लागि निकै हौसिएका छन् ।
चलचित्रमा राजन राज शिवाकोटीको संगीत रहेकोछ भने चलचित्रमा समाबेस “टाकन टुकुन…” बोलको गीत सामाजिक सञ्जालहरुमा लोकप्रिय भईसकेको छ ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np