धनपति: सरल तर फितलो

प्रकाशित मिति: Jul 8, 2017  

कथा, पात्र र प्रस्तुतिको आधारभूत विरासत कायम राख्न खोजे पनि पशुपतिप्रसादभन्दा चार कदम पछाडि छ, धनपति ।

निर्देशक दीपेन्द्र के खनाल र अभिनेता/पटकथाकार खगेन्द्र लामिछानेको जोडीको पशुपतिप्रसादले तरंग सिर्जना गर्‍यो, तडकभडकबिना र कम बजेटमै मन छुने फिल्म बनाउन सकिन्छ भन्ने । सामान्य पात्रभित्रको आवेग, कुण्ठा, निर्दोषपनालाई नियालिएको पशुपतिप्रसादले सिनेमाको विद्यमान नेपाली समीकरणमाथि नै प्रश्न उठाइदियो । यही सिर्जनात्मक जोडीको नयाँ फिल्म हो, धनपति । त्यसैले यसलाई पशुपतिप्रसादसँग तुलना गरिनु वा त्यो भन्दा माथिको अपेक्षा राखिनु स्वाभाविक भइहाल्यो ।

तर, कथा, पात्र र प्रस्तुतिको आधारभूत विरासत कायम राख्न खोजे पनि पशुपतिप्रसादभन्दा चार कदम पछाडि छ, धनपति । राजनीतिक विसंगतिमाथिको खगेन्द्रको प्रहार सतही छ । उता, अलमलमा परेको पटकथालाई निर्देशकीय गति दिन दीपेन्द्रले यथेष्ट प्रयास गरेको देखिँदैन । यति हुँदाहुँदै पनि फिल्म ‘लाउड’ चाहिँ छैन, जीवनसँग नजिक छ । यो फिल्म खगेन्द्रकै कथा ‘बाउसापको साइकल’मा आधारित छ ।

धनपति/सानुकाजी (खगेन्द्र) को सपना पनि सानै छ, काठमाडौँमा खान–लाउन र छोरीलाई राम्रो स्कुलमा पढाउन पाए पुग्यो । तर, रेस्टुराँको १५ हजार रुपियाँको तलबले यही सीमित चाह पूरा गर्न पनि मुस्किल हुन्छ । त्यसमाथि साइकल चलाएर हिँड्ने सानुकाजीले गरिब भएकै कारण अनेक ठक्कर र अपमानको सामना गर्नुपर्छ । यही बेला एउटा अमुक पार्टीको भरौटे कमल (आशान्त शर्मँ) ले सानुकाजीलाई पार्टीमा भित्र्याउन उक्साउँछन् । तीतो विगतले गर्दा सुरुमा त ऊ राजनीतिमा लाग्न मान्दैन तर छोरीको भविष्यकै लागि पार्टीको पूर्णकालीन सदस्य बन्छ । सानुकाजीलाई जसरी पनि राजनीतिमा ल्याउनु पछाडिको स्वार्थ के होला ? राजनीतिले खगेन्द्रको पुरानो घाउमा मल्हम लगाउँदै सरल जीवन यापनको चाह पूरा गर्ला त ? क्लाइमेक्स अनुमान गरे अनुरूपको त छ नै, त्यति परिपूर्ण पनि लाग्दैन ।

धनपतिको सबैभन्दा सशक्त पक्ष पात्रचयन हो । सानुकाजीजस्ता पात्र सहरका गल्लीगल्लीमा भेटिन्छन्, जसलाई पसिना बगाएर परिवार पाल्छु भन्दा पनि राज्य व्यवस्थाले दु:ख मात्र दिन्छ । गरिबीकै कारण स्तरीय स्कुलमा पढ्न नपाएकी उसकी छोरी, इमानदार पतिकी दु:खी पत्नी, अरूलाई प्रयोग गरेर माथि बढ्न खोज्ने तर आफैँ गोटी भइरहेको थाहा नपाउने कमल, सधैँ अरूलाई लडाएर सत्तामा पुग्ने नेता, भाडाका टोले गुन्डाहरू आदि–इत्यादि हामी वरपरकै पात्रहरू हुन् । तर, गतिला पात्रले मात्र फिल्म गतिलो हुने होइन, ती पात्रबीचको रसायन, तिनले सिर्जना गर्ने द्वन्द्व, परिणाम अनि प्रस्तुतिले फिल्मको वजन बढाउँछ । विडम्बना † धनपतिमा ती अर्थपूर्ण पक्ष नै फितला छन् ।

जस्तो, सुरुको १५ मिनेट फिल्म रमाइलो छ, केन्द्रीय कथातिर तानिरहेको भान हुन्छ । यो अवधिसम्म आइपुग्दा मुख्य पात्रहरू करिब स्थापित हुन्छन् तर पनि स–साना घटनामै अलमलिन्छन् निर्देशक ।

सानुकाजी रेस्टुराँ गएको, जेठानलाई भेटेको, काम गरेको, फर्केको, साइकल ठोक्किएको, कमललाई भेटेको लगायतका उही शैलीका दृश्यहरू बारम्बार देखाइन्छ । यस्तो समय पनि आउँछ, कथा सानुकाजीको हो कि साइकलको ? यस्ता खुद्रा विषयमा अल्झँदा फिल्मप्रतिको इच्छा क्रमश: ओरालो लाग्छ । धनपतिको परिवारले बोल्ने ‘आइस्यो, गइस्यो’ जस्ता भाषा, पार्टीमा छिर्नासाथ उनको जीवनशैली, बोली, व्यवहारमा आएको परिवर्तन, उसलाई राजनीतिमा ल्याउन मरिहत्ते गर्नुको कारण  विश्वसनीय छैन । फेरि छोरी पढाउनकै लागि जुन पार्टीका कारण घरपरिवार उजाडियो, त्यही पार्टीमा त्यति सजिलै धनपति प्रवेश गर्‍यो होला त ? पत्याउन मुस्किल पर्छ । गुन्डाहरूको प्रयोग ‘क्लिसे’ छ ।

जसरी मध्यान्तरअघि धीमा गतिमा कथा अगाडि बढ्छ, मध्यान्तरपछि पर्याप्त द्वन्द्वबिनै ठूला घटना छिट्टै हुन्छन् । बाबुसँगको वियोग होस् वा क्लाइमेक्स, दर्शकको संवेदना जित्न सफल छैनन् निर्देशक र पटकथाकार । मासु अड्किएको दृश्यबाटै फिल्म कसरी टुंगिन्छ भन्ने मेसो पाइन्छ । तर, सामान्य नागरिकमाथि राजनीति र राज्य प्रणालीको अत्याचारलाई मिहिन ढंगले केलाइएको छ । सानुकाजीको मनोविज्ञानले आमनेपालीलाई कुनै न कुनै रूपमा प्रतिविम्बित गर्छ । संवाद चोटिलो छ । लोकेसन सीमित भए पनि पट्यार लाग्दैन । सानुकाजीको भाडाको कोठाभित्रको संसार प्रेमिल र स्वाभाविक छ । दुई गीतको प्रयोग सान्दर्भिक छ । मसला र ‘हिरोइज्म’ को ह्याङ छैन ।

अभिनयका हिसाबले आशान्त फिल्मका ‘हिरो’ हुन् । हुलिया, बोल्ने शैली र हाउभाउबाटै उनको चरित्र र व्यक्तित्व झल्किन्छ । खगेन्द्रको चरित्रको सार टलकजंग भर्सेस टुल्के र पशुतिप्रसादको जस्तै हो, इमानदार तर हेपिएको र दबाइएको । त्यसैले उनको अभिनय औसत मात्र छ, खासै चमक छैन । अब खगेन्द्रले कथा, आफ्नो चरित्र र अभिनयमा नयाँपन खोज्नुपर्ने बेला आएको छ । उनीसँगको अपेक्षा यति मात्र होइन । सुरक्षा पन्त निकै मायालु लाग्छिन् । रवि गिरी, प्रकाश घिमिरे, कमल देवकोटा चरित्रमा फिट छन् । निर्देशक दीपेन्द्रको यो नवौँ फिचर फिल्म हो तर त्यही अनुरूपको परिपक्वता देखिन्न । तर, छायांकनमा उनको पहिलो प्रयास सराहनीय छ ।

धनपति हेर्दा ‘टाइम पास’ होला तर आँत भरिन्न । अझ पशुपतिप्रसादलाई दिमागमा राखेर हेर्ने हो भने निराश हुनुपर्छ ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np