रुससंग कुनै सांठगांठ छैन: ट्रम्प

प्रकाशित मिति: May 12, 2017  

राष्ट्रपति ट्रम्पले रुस र आफूबीच कुनै सम्बन्ध रहेको भन्ने खबरहरु पूर्ण असत्य भनेका छन्।

उनले सो सन्दर्भमा आफूबारे संघीय जाँच ब्यूरोले कुनै अनुसन्धान गरि नरहेको बताएका छन्।

एनबीसी न्यूजसंग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफ्नै निर्णयबाट संघीय जाँच ब्यूरो एफबीआइका निर्देशक जेम्स कोमीलाई बर्खास्त गरिएको उल्लेख गरे।

अस्वीकार

कोमीले गत वर्षको अमेरिकी चुनावमा रुसले हस्तक्षेप गरेको तथा ट्रम्प अभियानका अधिकारी एवं मस्कोमाझ सम्भावित सांठगांठका आरोपहरुबारे अनुसन्धानको नेतृत्व गरिरहेका थिए।

ट्रम्पले त्यस्तो कुनै पनि अनुसन्धानलाई बकवासको संज्ञा दिएका छन्।

तर कोमीका उत्तराधिकारी कार्यवाहक एफबीआइ प्रमुख एन्ड्र्यु मकेबले भने उक्त अनुसन्धान एकदम महत्वपूर्ण भएको र त्यसलाई प्रभावकारी ढंगले गरिने बताएका छन्।

सिनेटको गुप्तचर सम्बन्धी समिति समक्ष बयान दिंदै मकेबले सो अनुसन्धानको अवस्थाबारे ह्वाइट हाउसलाई जानकारी नदिने भन्दै ह्वाइट हाउसले त्यसबारे कुनै किसिमको हस्तक्षेप गर्न खोजे सिनेटको सो समितिलाई बताउने उल्लेख गरे।

उक्त समितिका अध्यक्ष रिपब्लिकन नेता रिचर्ड बर ले कोमीले राष्ट्रपति ट्रम्पलाई उनी कुनै अनुसन्धानको घेरामा नरहेको बताएको सुनेका थिए कि भन्ने प्रश्न गरेका थिए।

तर उक्त विषय जारी अनुसन्धानसंग जोडिएको भन्दै मकेबले टिप्पणी गर्न अस्वीकार गरे।

बीबीसी नेपालीबाट 

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np