अमेरिकाको अनलाइनलाई अन्र्तवार्ता दिईरहेको बेला चितवनका मेयरको उम्मेदवारी गायब

प्रकाशित मिति: May 4, 2017  

 

हिमालयखबरका पत्रकार केशब भट्टराईको अनुभब-

चितवनको भरतपुर महानगरमा कांग्रेसका तर्फबाट मेयरको उम्मेदवार ३४ जना आकांक्षीमध्ये टिकट कसले पाउँछन् भन्ने पूर्वानुमानलाई असत्य सावित गर्दै मनोनयन दर्ताको दिन अपरान्हमात्रै चितवनवासीले दिनेश कोइरालाको नाम सुने ।

५४ वर्षीय कोइरालाका लागि मेयरको पद उपहारजस्तै बन्न पुग्यो । यस कारण कि संयोगले उनको जन्मदिन पनि वैशाख १९ गते नै परेको थियो । मेयरका उम्मेदवारको व्यग्र पर्खाइमा रहेका चितवनवासीका लागि मात्रै होइन, देशभर र सामाजिक सञ्जालमा उनकै चर्चा चल्यो । महानगरमा चुनावी सरगर्मी यस कारणले बढ्यो कि जहाँ माओवादी केन्द्रले प्रचण्डपुत्री रेणु दाहाललाई र एमालेले देवी ज्ञवालीलाई चुनावी मैदानमा उतारिसकेको थियो । हजारौँ कांग्रेस कार्यकर्ता र समर्थकबीच भरतपुर विमानस्थलबाट भव्य अबिरजात्राका साथ उनको स्वागत भयो । मनोनयन दर्तासँगै उनी चुनावी दौडधूपमा व्यस्त भए ।

व्यस्तताका बीच महानगरका मेयरका बलियो उम्मेदवारसँग यस पंक्तिकारले कुराकानी गर्ने मौका पायो । उसो त दर्जनौँ कार्यकर्ताले घेरिएका कोइरालालाई उनीहरुबाट छुटाएर एकान्तमा लैजान हम्मेहम्मे प¥यो । तथापि उनले राम्रो रेस्पोन्सका साथ समय दिए । कुराकानीका क्रममा उनको मोबाइलमा घण्टी बज्नेक्रम जारी थियो । उनले अधिकांशको फोन पनि रेस्पोन्स गरिरहेका थिए । उनलाई बारम्बार आइरहेको फोनबाट पंक्तिकारले सहजै अड्कल काटिसकेको थियो कि उनी केन्द्रबाट निरन्तर दबाबमा छन् । एकाएक उनको अनुहारको भावभङ्गीमा परिवर्तन आएको अनुभूति मैले गरिसकेको थिएँ । बाहिर कार्यकर्तामा आक्रोश बढिसकेको थियो ।

सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चार महानगरमा तालमेल भएको समाचार विभिन्न अनलाइनहरुमा आइरहेका थिए । सत्य के हो भन्ने जान्न मैले उनलाई प्रश्न सोध्न बाँकी नै थियो । उनले संक्षिप्तमा मेरो प्रश्नको उत्तर दिँदै गए– ‘समृद्धिका लागि परिवर्तन’, सीतामाईं–पटिहानी–जगतपुर हुँदै गोलाघाटसम्म पर्यटकीय क्षेत्रका रुपमा विकास, महानगरमा रिङरोड, नारायणी र राप्ती नदीमा हाइड्रोपावर सञ्चालन गरी लोडसेडिङमुक्त आदिआदि ।

उनले मेयरमा विजयी बनेँ भने ‘पारिश्रमिक नलिइकन गरिबका लागि कोष स्थापना गर्ने’ उद्घोषसमेत गरेका थिए । नियमित विकास निर्माणका विषयमा कुराकानी चल्दै थियो । उता काठमाडौँमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डको बैठक चलिरहेको खबर विमलेन्द्र निधिसँगको फोनवार्ताका क्रममा कांग्रेस नेता तारा पौडेलको मुखबाट निस्किरहेको थियो । घटनाले अर्कै मोड लिने संकेत बुझेपछि अन्तर्वार्ता छोट्याएर कोइराला छुट्टिए ।

भरतपुर महानगरमा चुनावी तालमेलको सहमति बनेपछि चितवनमा कांग्रेस कार्यकर्ता निकै आक्रोशित भए । कार्यकर्ताले पार्टी कार्यालय कमलनगरमा चर्को नारावाजी गर्दै सभापति देउवाको पुत्लासमेत दहन गरे । हजारौँ कार्यकर्ताले पार्टीको केन्द्रीय निर्णय नमान्ने चेतावनी दिँदै पार्टी कार्यालयमा तालाबन्दीसमेत गरे ।

आक्रोशितको भनाइ थियो– ‘हँसिया हथौडासँग रुख साँट्न पाइँदैन ।’ आक्रोशित कार्यकर्तालाई शान्त पार्न जिल्ला सभापति जीतनारायण श्रेष्ठले प्रेस विज्ञप्ति नै जारी गर्नुप¥यो । उनले विज्ञप्तिमा भनेका छन्, ‘निर्वाचनका सन्दर्भमा अन्य राजनीतिक दलसँग कांग्रेसले गठबन्धन नगरेको स्पष्ट पार्दै भ्रामक समाचारको खण्डनका साथ पुनः रुख चिन्हमा मतदान गर्न हार्दिक अपिल गर्दछु ।’

उक्त विज्ञप्ति कार्यकर्तालाई शान्त पार्ने एउटा उपायका लागि श्रेष्ठले विज्ञप्ति जारी गरेको भन्ने कुरा सामान्य व्यक्तिलाई पनि थाहा भइसकेको थियो ।

कांग्रेस–माओवादी सहमतिअनुसार काठमाडौँ र पोखराको मेयरमा माओवादीले कांग्रेसलाई सघाउने रहेको छ । भरतपुरमा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाललाई उम्मेदवार बनाएको छ । उसो त रेणु दाहालको उम्मेदवारीसँगै चितवनमा कांग्रेस र माओवादी केन्द्रको तालमेल हुनसक्ने आँकलन चितवनवासीले गरिसकेका थिए । कांग्रेसमा महानगरको उम्मेदवारका लागि चर्चामा रहेका प्राडा सूर्यकान्त घिमिरे, मिलनबाबु श्रेष्ठ, टेकप्रसाद गुरुङलाई मेयरमा टिकट नदिनुको प्रमुख कारण पनि तालमेलकै संकेतका रुपमा बुझिएको थियो ।

महानगरमा तालमेल हुन लागेकोमा मुख्यतः कांग्रेसमा सिटौला समूहले तीव्र आपत्ति जनाएको छ । चुनावी गठबन्धनप्रति कांग्रेस नेता कृष्ण सिटौलाले असहमति जनाइरहेका छन् । सिटौला पक्षको विरोधका बाबजुद नेपाली कांग्रेसले दिनेश कोइरालाको उम्मेदवारी फिर्ता लिने निर्णय ग¥यो । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन कार्यालय चितवनमा पत्र पठाएर कोइरालाको उम्मेदवारी फिर्ता लिएको जानकारी गराए ।

केन्द्रको दबाबका बीच उपहारमा पाएको मेयरको उम्मेदवारी कोइरालाले प्रचण्डपुत्री रेणु दाहालका नाममा समर्पित गरे ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np