उपेन्द्र र बाबुरामले भक्तपुर नगरपालिकामा उम्मेदवार नै पाएनन्

प्रकाशित मिति: May 3, 2017  

काठमाडौं,बैशाख २० । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालले स्थानीय तहको निर्वाचनमा मिलेर उम्मेदवारी दिने सम्झौता गरे । तर, भक्तपुर नगरपालिकामा उम्मेदवार नै पाएनन् । उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले भक्तपुरमा उम्मेदवार नपाएपछि मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे । राजधानी दैनिकले समाचार छापेको छ ।

भक्तपुरका लागि फोरम नेपाल, नयाँ शक्ति र क्रान्तिकारी माओवादीबीच तालमेल सम्झौता पनि भयो । तर, दुर्भाग्य क्रान्तिकारी माओवादीका तर्फबाट पनि उपमेयरका उम्मेदवार मनोनयन गर्ने व्यक्ति भेटिएन ।

फोरम नेपालका केन्द्रीय सदस्य एवं महानगर इन्चार्जसमेत रहेका सानोराजा शाक्यका अनुसार तीन पार्टीबीच तालमेल गर्दासमेत उम्मेदवार नपाएपछि अन्ततः उपमेयरमा उम्मेदवारी दर्ता हुन सकेन ।

फोरम नेपाल र नयाँ शक्ति काठमाडौं महानगरपालिकामा संयुक्त प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा फोरम नेपालका तर्फबाट पवित्र बज्राचार्य र उपमेयरमा नयाँ शक्तिकी सविना अर्यालले उम्मेदवारी दर्ता गराएका छन् ।

मध्यपुर थिमी नगरपालिकाको मेयरमा नयाँ शक्तिका ज्ञानराम श्रेष्ठ मेयर र फोरम नेपालकी नानीछोरी बाडे उपमेयरका उम्मेदवार भएका छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा फोरम नेपाल र नयाँ शक्तिले संयुक्त रूपमै निर्वाचन लडिरहेका छन् ।

यी दुई पार्टीबीच एकीकरणको प्रयास भए पनि त्यसले मूर्तरूप लिन सकेको छैन । पार्टी एकीकरण हुन नसकेपछि दुई पार्टीले फोरमको मसाल चुनाव चिह्न लिएर निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेका थिए ।

अन्तिम समयमा निर्वाचनमा जान तयार भएको संघीय फोरमले नया शक्तिसँग सहकार्य गरे पनि अधिकांश स्थानमा उम्मेदवारी मनोनयन गर्न नसकेको पार्टीका नेताहरू नै स्वीकार गर्छन् ।

फोरम नेपाल निर्वाचनमा सहभागी भए पनि उसले घोषणापत्र सार्वजनिक गरेको छैन । उसले नयाँ शक्तिले सार्वजनिक गरेको घोषणापत्रलाई नै आधार बनाएर जनतासँग भोट माग्ने जनाएको छ । फोरम नेपालका महासचिव रामसहाय यादवले पार्टीका तर्फबाट घोषणापत्र सार्वजनिक नगरिएको बताए ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np