सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता लिन चार पूर्व प्रधानन्यायाधीशको आह्वान

प्रकाशित मिति: May 1, 2017  

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध ‘विना प्रमाण महाअभियोग दर्ता भएको’ भन्दै चार पूर्व प्रधानन्यायाधीशहरुले आपत्ति जनाएका छन्। पूर्व प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अनुपराज शर्मा र मीनबहादुर रायमाझीले सोमबार प्रेस विज्ञप्ति जारी गरी महाअभियोग फिर्ता लिन आह्वानसमेत गरेका छन्।  ‘लोकतान्त्रिक मूल्य-मान्यताहरुको जगेर्ना तथा स्वतन्त्र र सक्षम न्यायपालिकाको संस्थागत विकासका लागि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता गरी ससम्मान पूर्ववत जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्न सम्बद्ध सबैसँग हामी आह्वान/अनुरोध/अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।  ‘कुनै छानबिन, छलफल र विचार विमर्श नगरी तथा प्रस्तावक समर्थकहरुको सनाखत गराउनेजस्ता विधि र प्रक्रिया अपनाइएको थियो भन्ने तथ्यसमेत ज्ञात हुन नआएको अवस्थामा राज्यका प्रमुख तीन अंगमध्येको एक अंग न्यायपालिका प्रमुखउपर हठात महाअभियोग प्रस्ताव पेस भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तावको औचित्य तथा प्रस्तावकहरु पहिचान गरिएको सम्बन्धमा कुनै जानकारीसमेत नदिई प्रधानन्यायाधीशलाई निलम्बन गरिएको भनी पत्राचार गरिनु गम्भीर आपत्तिको विषय हो।’  उनीहरुले यस्ता कार्यले न्यायपालिका कमजोर हुने विज्ञप्तिमा उल्लेख गरेका छन्। ‘यस्तो कार्यबाट निहीत स्वार्थ पूरा गर्ने कसैको कुत्सित उद्देश्य त पूरा होला, तर लोकतन्त्रको आधारस्तम्भको रुपमा रहेको न्यायपालिका धराशयी र क्षतविक्षत बन्न पुग्दछ, जनताको हक अधिकारको संरक्षण गर्ने मूल संरचना नै कमजोर बन्न जान्छ,’ विज्ञप्तिमा भनिएको छ। उनीहरुले अब न्यायाधीशहरुले निश्पक्ष र स्वतन्त्र भएर काम गर्न नसक्ने संकेत पनि गरेका छन्। ‘राजनीतिक तहमा देखिएका यस प्रकारका क्रियाकलापबाट स्वतन्त्र, निष्पक्ष र स्वच्छ तवरबाट न्याय सम्पादन गर्ने वातावरण बिथोलिने कुरा पनि निश्चित नै छ,’ विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np