आन्दोलनबाट नथाक्ने आनन्द

प्रकाशित मिति: Mar 22, 2017  

विष्णुप्रसाद पौडेल,न्युयोर्क,

जसको नामै सुदूर छ, अर्थात सुदूर पश्चिम । जहाँ सूर्य पनि अस्ताउनमात्रै पुग्छ भनिन्छ । हो, त्यही ठाउँमा जन्मेको एउटा मान्छे अहिले संसारकै पश्चिममा आइपुगेको छ । तर संसारको सुदूर पश्चिमचाहिँ उसको गाउँजस्तो नेपालको सुदूर पश्चिम होइन, जहाँ विकासको नाममा मोटर गाडी पनि भर्खरभर्खर पुग्दैछ । ऊ त अहिले यस्तो पश्चिम देशमा छ, जहाँ अन्तरिक्षयानहरु चन्द्रमा र मंगलग्रहको यात्रामा छन् ।

डोटी जिल्लाको गडसेरा गाविसमा जन्मिएका आनन्द विष्टको कुरा गर्दैछौं हामी । उनी अहिले थुप्रै नेपालीको कर्मथलो अमेरिकामा छन् । संसारभरकै मानिसहरुको सपनाको यो देशमा उनी पनि एउटा सपना लिएरै आएका हुन् ।

२ कक्षासम्म डोटीकै महेन्द्र प्राविमा पढेका उनको विद्यालय शिक्षा पछि धनगढीमा भयो, किनभने परिवारले डोटीबाट बसाइ स¥यो । २०३४÷३५ सालतिर घनगढी कैलालीमा बसाइसराइ भएको थियो उनको परिवारको । माध्यमिक तहको शिक्षा त्यहिँको स्कुलमा पढे ।

पैतालामा कोठी भएको मान्छेले धेरै हिँड्नुपर्छ भन्ने सामाजिक विश्वास छ नेपालमा । खै आनन्द विष्टको पैतालामा कोठी छ छैन थाहा छैन, तर उनको जीवनमा यात्रा धेरै भयो । पहिलो त डोटीबाट धनगढी, त्यसपछि उच्च शिक्षाका लागि उनी भारत देहेरादून पुगे । अनि अहिले त उनी देशभन्दा धेरै टाढाको ठाउँमा आइपुगेका छन् अमेरिका । प्लस टु देहेरादूनमा गरे पनि बिएलचाहिँ फेरि काठमाडौंमा गरेका थिए आनन्दले । त्यो पनि ठाउँठाउँ चाहर्नुको लेखा थियो सायद उनको जीवनमा । सन् १९९८ मा अमेरिका आएका उनी त्यसयता भने यतै बसिरहेका छन् । नेपाल आइजाइ चाहिँ बाक्लै गर्छन् ।

खासमा अमेरिका आउनेको मक्सद सेवा होइन पैसा कमाउने हुन्छ धेरैको । तर अलि अपवाद लाग्छन् आनन्द । उनको ध्यान पैसा कमाउनेतिरभन्दा सेवा गर्नेतिर धेरै छ । त्यसो त उनका बुबा समाजसेवी थिए । रगतमै थियो सायद समाजसेवा आनन्दको पनि । राजनीति समाजसेवाको सर्वाेच्च बाटो हो । उनका दाजुहरु पनि घनगढीमा राजनीति गर्छन् । आनन्द आफैं पनि राजनीति पनि गर्छन्, उनको राजनीतिक सामान्य मानिसले बुझ्ने सत्ता र पदको लुछाचुँडीभन्दा धेरै पुँडो छ । उनी राजनीतिक गर्छन् त केवल सेवाका लागि । मानवअधिकारका लागि केन्द्रित रहन्छ उनको राजनीति । मातृभूमि नेपालमा नागरिक अधिकारका लागि लड्छन् उनी र त्यही उनको राजनीतिको केन्द्रमा हुन्छ ।

नेपालमा २०४६ सालको जनआन्दोलन हुँदा उनी भारतमा थिए । साथीहरुको नेतृत्व गर्दै देहेरादुनबाट दिल्लीमा प्रदर्शन गर्न गएका थिए । देहेरादुन शाखामा नेविसंघको नेतृत्व गरेका थिए । त्यतिवेला १७ वर्षका थिए । घरबाट पठाएको पैसा जम्मा गरेर प्रदर्शन गर्न दिल्ली गए । कलकत्ता, बम्बै, बैंग्लोरबाट प्रवास जनसम्पर्क समिति मा आवद्ध सबै साथीहरु आएका थिए । २०४८ सालदेखि डोटी जिल्लाबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य । २०४३ सालदेखि नेविसंघमा आवद्ध थिए ।

सन् २००२ मा नेपालमा राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि नेपालमा प्रजातन्त्र पुनर्बहली गर्नु ग¥यो भनेर अन्तर्राष्ट्रिय जनमत र दबाव सिर्जना गर्न लागि परेका थिए आनन्द । शाही कदम विरुद्ध हस्ताक्षर अभियान सुरु मात्रै गरेनन् त्यस अभियानको नेतृत्व उनै आनन्दले गरेका हुन् । उनको त्यो अभियान कति प्रभावकारी भयो भने नेपालका मूलधारका मिडियाले प्राथमिकताका साथ प्रकाशन गरे । उता कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले फोन गरेर त्यसरी हँुदैन संस्था दर्ता गरेर संस्थागत हिसाबले लाग भने । अनि नेप्लिज डेमोक्रेटिक युथ काउन्सिल युएसए संस्था दर्ता गरे आनन्दले । त्यसको संस्थापक अध्यक्ष भए । न्युयोर्कमा १८, वासिङटन डिसीमा ४ वटा गरी २२ वटा ¥याली निकाले । ह्वाइट हाउस, संयुक्त राष्ट्रसंघ, क्यापिटल हिल अगाडि लगायत अन्तर्राष्ट्रिय मानवअधिकार संस्था सबैतिर ¥याली गरे । उनी सम्झन्छन्, ‘नेपालमा प्रजातन्त्रको हत्या भयो, मानवअधिकार हनन भयो भनेर सबैतिर जानकारी गरायौं । दबाव दियौं ।’
संयुक्त राष्ट्रसंघको साधारण सभा हुने वेलामा सबै राष्ट्रका राष्ट्रप्रमुखलाई एम्बेसी र कन्सुलेटको माध्यमबाट ज्ञापनपत्र हस्तान्तरण पनि आनन्दहरुले गरे ।

गिरिजाले पहिले भारतमा बिपीले गठन गरेको जनसम्पर्क समितिलाई संसारभरि बनाउनुप¥यो, आनन्दजी पनि भनेका थिए उनलाई । ‘तपाईंले त्यसको नेत्तृत्व गर्नुप¥यो भनेर सन् २००४ मा संयोजक तोकेर पठाउनुभयो,’ आनन्द भन्छन्, ‘त्यसपछि नेपालमा रहँदा नेपाली कांग्रेससँग आवद्ध सबैसँग समन्वय गरेर तदर्थ समिति बनायौं । त्यही तदर्थ समितिमा रहेर २ वर्ष जति काम गरें ।’

अहिले आनन्दलाई सबैले चिन्ने भनेको नेपाली जनसम्पर्क समितिकै नेतृत्वकर्ता र अगुवाको हिसाबले हो । यो कांग्रेस पार्टी निकट भए पनि आनन्दको सेवाभावमा राजनीतिको रङ कमै देखिन्छ । नेपालीका लागि लाग्ने र सहयोग गर्ने भनेपछि उनी कस्सिइहाल्छन् । पोहोर नेपालमा भैंचालो जाँदा उनी उहीं गएर सेवामा खटिए । अहिले उनकै पहलमा नेपालमा विद्यालय पुनर्निर्माण लगायत काम भइरहेको छ । भन्छन्, ‘जीवनको अन्तिम घडीसम्म पनि सेवामै लाग्न पाएँ भने आफ्नो जिन्दगी धन्य हुनेछ ।’

===================================================

आलोचनाबाट हतोत्साही हुने हो भने राजनीतिमा नलागे पनि हुन्छ

डोटी हुँदै तपाईं धनगढी आउनुभयो, बाल्यकालमा के कति सामाजिक काममा लाग्नुभयो बताइदिनुस् न ?
मलाई स्कुलमा पनि शिक्षकहरुले पनि मन पराउनुहुन्थ्यो । विद्यार्थीमाझ पनि पपुलर थिएँ । सामाजिक गतिविधिमा त्यति वेला पनि संलग्न थिएँ । त्यतिवेला पनि लिडिङ रोल म गर्थें । विद्यालयमा हुने हरेका काममा संलग्न हुन्थ्यें । पिक्निक जाँदा होस्, शैक्षिक भ्रमण जाँदा होस्, वृक्षरोपण गर्दा होस्, विभिन्न काममा नेतृत्वदायी भूमिका निर्वाह गर्थें । सानैदेखि अरुलाई सहयोग गर्नुपर्छ भन्ने लाग्थ्यो । होस् सम्हालेदेखि नै, यो सामाजिक काम भनेको के हो भन्ने थाहा भयो त्यो वेलादेखि नै सामाजिक सेवामा लागें ।

 

भारत कति सालमा जानुभयो ?

म सन् १९८९ देखि १९९१ सम्म प्लस टु पढ्न भारतमा बसें ।

भारतमा हुँदा कुनकुन संस्थामा संलग्न हुनुहुन्थ्यो ? र कसरी सक्रिय हुनुहुन्थ्यो ?
त्यहाँ जनसम्पर्क समितिसँग आवद्ध नेपाल विद्यार्थी संघ थियो । त्यहाँ हुँदा नेविसंघको भारत शाखाको सचिव भएर काम गरेको थिएँ । त्यतिवेला नेपालमा जनआन्दोलन भएको थियो । त्यसैलाई कसरी सहयोग गर्ने भनेर विभिन्न कार्यक्रम ग¥यौं । स्मारिका निकाल्ने, पर्चा पम्पेल्ट निकाल्ने, नाटक गर्ने विभिन्न प्रचारप्रसारका काम ग¥यौं । कक्षा ११ पढ्दा लेख लेखेको थिएँ मैले । दिल्ली जाने, राजदूतावास अगाडि गएर धर्ना दिने जस्ता दवावमुलक काम गरेका थियौं ।

राजनीतिमा लाग्नुमा तपाईंको बुबाको कारणले हो कि आफ्नै कारणले ?
मेरो बुबा सामाजिक काममा संलग्न हुनुहुन्थ्यो । तर राजनीति चाहिँ मेरै आफ्नो रुचि हो । मेरो संगत नै त्यस्तै भयो । साथीहरु सबै राजनीतिक पृष्ठभूमिका हुनुहुन्थ्यो । नेविसंघका केन्द्रीयस्तरका नेताहरु हुनुहुन्थ्यो । उहाँहरुको गतिविधि, योगदान देखेर मुलुकको लागि केहि गर्नुपर्ने रहेछ भन्ने लाग्यो । स्वतन्त्र बोल्न पाउने, हिँड्न पाउने लगायत सम्पूर्ण अधिकार त प्रजातन्त्र प्राप्ति भएपछि पो पाइँदो रहेछ भन्ने विचार ककिलो मनस्थितिदेखि नै बन्यो । राजनीतिमा चाहिँ देशको युगान्तकारी परिवर्तनमा नेपाली कांग्रेसले खेलेको भूमिकाका कारण म त्यसबाट प्रभावित भएर म कांग्रेससँग आवद्ध नेविसंघमा लागें ।

अमेरिका कहिले आउनुभयो ?
म सन् १९९८ मा आएँ ।

सुरुमा आएर तपाईं कुन सस्ंथासँग संलग्न हुनुभयो ?
म ३÷४ वर्षसम्म कुनै संस्थासँग आवद्ध भइन । तर विभिन्न गतिविधिमा संलग्न हुन्थें । आउने वित्तिकै सामाजिक काममा संलग्न रहें । मान्छेहरुलाई सहयोग गर्ने, एयरपोर्टबाट ल्याउने, डेरा, काम खोजिदिने, सोसल सेक्युरिटीको लागि अप्लाई गरिदिने गरिरहेको थिएँ । यहाँका संघसंस्थाले मलाई नजिकबाट नियालिरहेका थिए । सन् २००२ देखि शाहिशासनका विरुद्ध हस्ताक्षर अभियान सुरु भएपछि नेप्लिज डेमोक्रेटिक युथ काउन्सिलकको संस्थापक सभापति भएँ ।

त्यो वेला नेपालीहरुको अवस्था कस्तो थियो ?
त्यो वेला नेपालीको संख्या पातलो थियो । न्युयोर्कबाट नं ७ ट्रेन चढेर म्यानहटन जाँदा कुनै नेपाली बोलेको छ भने कान ठाडो पारेर सुन्नुपर्ने अवस्था हुन्थ्यो । नेपाली भेट्दा चासो राख्ज्थ्यौंं, खुसी लाग्थ्यो । म्यानहटनमा कुनै नेपाली भेट्दा आफ्नै दाजुभाइ भेटेजस्तो हुन्थ्यो । म आउँदा न्युयोर्कमा ५ हजारको हाराहारीमा नेपाली थिए ।

तपाईं सामाजिक र राजनीतिक पृष्ठभूमिको मान्छे नेपालीहरुको लागि कस्तो भूमिका खेल्नुभयो त्यतिवेला ?
डेरा खोजि दिने, काम खोजि दिने, विद्यार्थीलाई परेका समस्यादेखि लिएर दैनिक कार्यमा समन्यवकारी भूमिका खेलेको थिएँ ।

अमेरिका रहेर पनि तपाईं यति लामो समयदेखि सामाजिक काममा संलग्न हुनुहुन्छ, कहिलेकाहिँ आत्मग्लानि हँुदैन ? मैले त्यसो नगरिकन आफ्ना नियमित काम गरेर कमाउँ भन्ने कहिल्यै लाग्यो कि लागेन ?
होइन लहैलहैमा लागेको मान्छे चाहिँ एक÷दुई ठाउँमा ठक्कर खाने वित्तिकै पछि हट्दो रहेछ । तर राजनीति र सामाजिक काम मेरो अन्तरआत्मादेखि नै आएको हुनाले कहिल्यै पनि पछुतो भएन र भोलि पनि हँुदैन । यसमा मलाई कसैले कर गरेको छैन । अन्तरमनले भनेर म यसमा लागेको हुनाले कहिल्यै त्यस्तो लागेन ।

परिवारबाट कस्तो प्रतिक्रिया पाउनुहुन्छ ?
म साह्रै भाग्यमानि मान्छे । छोरा डेढ वर्षको हुँदा छोरा र श्रीमतिलाई नेपाल छोडेर अमेरिका आएको हुँ । नौ वषैपछि मात्रै उनीहरुसँग भेट भयो । पछि यहाँ आएपछि छोरी जन्मि । मेरो परिवार विशेषगरि श्रीमतिबाट एकदमै ठूलो सहयोग पाएको छु । हाम्रो भेट बिरलै हुन्छ । हप्ताको एक÷दुई दिन मात्र भेट हुन्छ । बिहानदेखि बेलुकासम्म म आफ्ना व्यक्तिगत तथा सामाजिक काममा संलग्न हुन्छु । धेरैजसो मेरा समय आकाशमै बितिरहेको हुन्छ । विभिन्न कार्यक्रममा बाहिरको बाहिरै हुन्छु । त्यस्तो अवस्थामा पनि मेरी श्रीमतिले यति ठूलो सहयोग गर्छिन्, त्यसको लागि म आफूँलाई भाग्यमानि मान्छु । श्रीमानको यो प्यासन हो, उहाँलाई यो कुरा मन पर्छ, हामीले एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावना श्रीमतिले बुझिदिने भएकोले मलाई अत्यन्त सजिलो भएको छ ।
नेपालमा गणतन्त्र ल्याउनमा विदेशमा रहेर तपाईंले नेतृत्वदायि भूमिका खेल्नुभयो, त्यसको बारेमा थोरै बताइदिनुहोस् न ?
जसरी नेपालमा गणतन्त्र प्राप्तिका लागि जसरी हामी न्युयोर्कका सडक गल्लिहरुमा हिँडेका थियौं, त्यहि ठाउँमा यो वर्ष मे २२ तारिखमा गणतन्त्र दिवस मनायौं । न्युयोर्कसिटीले पनि नेपाल डे भनेर घोषणा गरिदियो । त्यो अत्यन्त सुखद क्षण भयो । केहि न केहि प्राप्त गरेजस्तो लाग्या मलाई । सुरुका दिनदेखि नै प्रजातान्तित्रक क्रियाकलापमा नेतृत्वदायि भूमिका खेल्ने अवसर पाएको हुनाले, सबैले आनन्द विष्टको नेतृत्वमा जानुपर्छ भन्ने भावना भएकोले आफूलाई भाग्यमानि ठान्छु । तर नेपालमा गणतन्त्र प्रात्तिपछि जे होला जस्तो परिवर्तन होला भन्ने अपेक्षा थियो त्यो पूरा हुनु सकेको छैन । नेपालका कम्युनिष्टहरुको सस्तो लोकप्रियताका पछाडि लाग्ने बानि छ । मुलुकको अर्थतन्त्रलाई कसरी लामो समय टिकाउने भन्ने भावना नभएर कसरी हुन्छ तुरन्तातुरुन्तै सस्तो लोकप्रियता कमाउनतिर नेकपा एमाले, माओवादीमा देखियो । त्यस्ता कुराले नेपालको राजनीतिक विकासमा अबरोध गरेको छ । तर हामी आशावादी हुनुपर्छ । मुलुक एउटा सिस्टममा गएर लोकतान्त्रिक सरकारले आफ्नो कार्यावधिभरि भ्रष्ट्राचारमुक्त भएर काम गर्न सक्यो भने हिजोका दिनमा हामीले विदेशमा रहेर पनि गणतन्त्र प्राप्तिका लागि गरेको काम प्रति त्यो दिन हामीलाई आत्मसन्तुष्टि हुन्छ ।

नेपालको राजनीतिक पार्टीको भात्तृ संगठनमा रहेर काम गर्दा के फाइदा र के बेफाइदा हँुदो रहेछ ?
परदेसी भूमिमा दलगत राजनीति गर्नु भनेको जटिल काम रहेछ भन्ने मैले महुसुस गरें । भातृ संगठनमा रहेर १४÷१५ वर्षदेखि काम गर्दै आएको छु । संस्थापक सभापति देखि हालसम्म पनि सभापति छु । धेरैजसो मान्छेको हामीलाई हेर्ने दृष्टि नकारात्मक हुँदो रहेछ । समाजमा राजनीतिक रङ ल्यायो, राजनीतिक काम ल्याएर मान्छेलाई भाँड्ने काम ग¥यो, यसले समाजलाई सकारात्मक काम गरेन, राजनीति गर्ने हो भने त नेपालमै गएर गरे हुन्थ्यो यहाँ किन राजनीति गर्ने भन्ने जस्तो धेरैजसो नकारात्मक धारणा मात्र मान्छेहरुमा छ । यहाँको माध्यमबाट म सबैलाई के भन्न चाहन्छु भने,वास्तवमा भन्ने हो भने संस्था खोल्नुको उद्देश्य के हो ? आस्था हाम्रो जे पनि हुन सक्छ नि । नेपालमा कलाकारितामा लागेका मान्छेहरुको यहाँ कलाकारको संस्था छ,साहित्यकारहरुको संस्था छ,विभिन्न जिल्लाबाट आएका मान्छेहरुले आ–आफ्नो समन्वय समिति गठन गरेका छन्, विभिन्न पेशागत मान्छेको आफ्नै संस्था छ भनेपछि हामी नेपालमा रहँदा नेपाली कांग्रेससँग आवद्ध व्यक्तिहरुले यहाँ सामाजिक काम गर्ने हेतुले र नेपालमा ठूला राजनीतिक परिवर्तन गर्नका लागि अन्तराष्ट्रिय दवाव सिर्जना गर्नुपर्छ र त्योभन्दा बाहेक पूर्णरुपमा यहाँ रहेका नेपालीहरुको सेवा गर्नुपर्छ भन्ने स्पष्ट नीति र उद्देश्य छ । त्यसो हुनाले हामीले कुनै नेपाली समुदायलाई भाँड्ने काम गरेका छैनौं । कसैलाई तानेर हाम्रो संस्थाको सदस्य बन भनेका छैनौं । तपाईंलाई कांग्रेस भन्नुहोस् भनेका छैनौं । अहिले एक वर्ष भित्रमा १२÷१५ वटा च्याप्टर थपिँदै छन् । मान्छेको यस्तो चार्म बढेको छ यसमा । तर नकारात्मक भावना भएका मान्छेले राजनीतिक रङ ल्याएर समाज भाँड्ने काम ग¥यो भन्छन् । नबुझ्ने मान्छे र हामीप्रति नकारात्मक भाव भएका मान्छेहरुको धारणा हो त्यो । तर तपाईंले भनेजस्तो जटिल चाहिँ जटिल छ । त्यति सहज छैन । धेरै कुरा सहनु पर्छ ।धेरै मान्छेहरुको वचन सहनु पर्छ । धेरै आक्रमण सहनु पर्छ । म यस कुरामा भाग्यमानि ठान्छु, म चाहिँ अन्तरआत्मादेखि नै सामाजिक काममा लागेको हुनाले मलाई सानातिना कुराले फरक पार्दैन । फलेको हांगामा सबैले झटारो हाँन्छन् भने जस्तै अनुभव हुन्छ मलाई । किनकि मैले राम्रो काम गरेको छु । मलाई आक्रमण हुन्छ । म निरन्तर फल दिइरहन्छु, कागले कान लग्यो भन्दैमा आफ्नो कान नछामि कागका पछि दगुर्दिन । सानातिना आलोचनाबाट हतोत्साहि हुने हो भने राजनीतिक काममा नलागेपनि हुन्छ ।

जनसम्पर्क समितिले नेपाल र नेपालीको लागि के गरेको छ ?
मुलुकमा अफ्ठेरो पर्दा जनसम्पर्क समितिले युगान्तकारी भूमिका निर्वाह गरेको छ । नेपालमा प्रजातन्त्र पुर्नवाहली होस् वा मानवअधिकार पुर्नवाहली गर्न होस्, त्यस्तै गएको वर्ष भूकम्प जाँदा होस् हामीले सहयोग गरेका छौं । भूकम्प जाँदा जनसम्पर्क समितिको माध्यमबाट नेपालमा गएर विभिन्न जिल्लामा राहत वितरण ग¥यौं । खाद्य सामाग्री, टेन्ट, जस्तापाता वितरण ग¥यौं । अहिलेसम्म पनि हामीले त्यो काम निरन्तर गरिरहेका छौं । भर्खरै काठमाडौंमा ३० लाखको लागतमा एउटा विद्यालय निर्माण भइरहेको छ । यस्ता कार्यमा जनसम्पर्क समिति सधैं लागिरहेको छ । नेपालको पर्यटन प्रवद्र्धन गर्न र नेपालको निर्यातमा सधैं भूमिका निर्वाह गर्दै आएका छौं । हामीले विशेष गरेर नेपालको पर्यटन क्षेत्रमा केही गर्नुपर्छ भन्ने हाम्रो सोचाइ छ ।

यो क्षेत्रमा लागेर के पाएँ र के गुमाएँ भन्ने लाग्छ तपाईंलाई ?
भौतिकवादी मान्छे भइदिएको भए सामाजिक, राजनीतिक काममा लाग्दै लाग्दैनथ्यो । यति ठूलो देशमा आएर सातै दिन काम गर्ने हो भने धेरै पैसा कमाउन सकिन्छ । म नेपालमै पढेलेखेको मान्छे चाहेको भए यहाँबाट अन्तराष्ट्रिय डिग्री लिन सक्थें । तर मैले के सोचें भने यो मात्रै लाइफको एउटा मोटो होइन । पैसा त मान्छेसँग कति छ कति छ । किरा मकौडा जस्ता मान्छेहरु बसिरहेका छन् । तर समाजको लागि देशको लागि केहि गरेर देखाउनुपर्छ भन्ने लागेर, आफ्नो केहि उपस्थिति देखाउनुपर्छ, सच्चा नागरिक भएर देखाउनुपर्छ भन्ने भावना भएको हुनाले मलाई गुमाएजस्तो केही पनि लाग्दैन । म एउटा सानो सर्वसाधारण परिवारको मान्छे संघर्ष गर्न, जिविकोपार्जनको लागि अमेरिका आएको आज संसारभरका नेपालीसँग नेटवर्क छ । नेपालका पोलिटिकल पार्टीहरुसँग नेटवर्क छ । सबैले आनन्द विष्ट भनेर चिन्छन् त्यसमा मलाई गर्व लाग्छ । केही प्राप्ति गरे जस्तो लाग्छ, त्यहि नै हो मेरो पहिचान जस्तो लाग्छ । १८ वर्षको बीचमा गरेको संघर्षले संसारभरका नेपालीमाझ चिनाउनु, स्थापित हुन भनेको मेरो प्राप्ति हो जस्तो लाग्छ मलाई ।

अन्त्यमा केही भन्नुहुन्छ कि ?
सामाजिक र राजनीतिक काममा मेरो होस् रहेसम्म जहाँ भएपनि लागिरहने छु । अरुको सेवा र पार्टीको सेवामा सधैं लागिरहने मेरो संकल्प छ । मलाई कठोरभन्दा कठोर गाली गर्ने, राजनीतिक हिसावले लखेट्ने दुश्मनलाई पनि सौहार्द वातावरणमा स्वागत र सम्मान गर्न खोज्छु । पछाडि फर्केर मैले हेर्न जानेको छैन । दुश्मनै भएपनि मेरो विचार मन नपराउने अधिकार उसलाई हुन्छ । म अधिकारमा विश्वास राख्ने मान्छे भएको हुनाले त्यसलाई मैले कहिल्यैपनि नकारात्मक रुपमा लिइन । सहि बाटोमा हिँडेको हुनाले मेरो रिस गर्ने मान्छे थोरै र माया गर्ने मान्छे धेरै छन् जस्तो लाग्छ मलाई ।

नेपालय पाक्षिकबाट

 

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np